रसुवा । २०८३ कात्तिक ११ गते

भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको विनाशकारी बाढीले खण्डहरमा परिणत गरेको ऐतिहासिक तथा धार्मिक स्थल उत्तरगयाधाम पुनर्स्थापना गर्न धर्मगुरुहरूले प्रतिबद्धता जनाएका छन् । रसुवा र नुवाकोटको संगमस्थल उत्तरगया गाउँपालिका–५, वेत्रावतीस्थित उत्तरगयाधामको अवलोकनपछि धर्मगुरुहरूले यसको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व जोगाउँदै पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

कालाग्निरुद्र पीठ लड्केश्वर धामका पीठाधीश मुकुन्द शर्मा हुमागाईको नेतृत्वमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका नायब बडागुरु प्रा. डा. माधवप्रसाद भट्टराई, समितिका पूर्वअध्यक्ष रामचन्द्र गौतम, निवर्तमान कार्यकारी निर्देशक पं. आचार्य लक्ष्मण पन्थी, विदुषी डा. कान्ता भट्टराई, अरुणकुमार पाण्डे, प्रकाश ढोडारी तथा नेपाली हिन्दु समाज अस्ट्रेलियासहितको टोलीले ०८३ कात्तिक १० गते बाढीबाट क्षतिग्रस्त उत्तरगयाधामको अवलोकन गरेको थियो ।

बाढीले उत्तरगयाधामका धार्मिक संरचना तथा आसपासको क्षेत्र ध्वस्त पारेपछि यसको अस्तित्व नै संकटमा परेको छ । रसुवा र नुवाकोटका बासिन्दाले मृतक आफन्तको अन्त्येष्टि तथा पितृकार्य गर्ने प्रमुख स्थलका रूपमा परिचित यस धाममा बाढीले ठूलो क्षति पुर्‍याएको छ ।

उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले ध्वस्त भएको धामलाई पहिलेभन्दा व्यवस्थित र राम्रो बनाउने बताउनुभयो । धार्मिक व्यक्तित्वहरूको भ्रमण र प्रतिबद्धताले बाढीबाट क्षतिग्रस्त राममन्दिर, उत्तरगयाधाम तथा अन्य संरचनाको पुनर्स्थापनामा सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

उत्तरगयाधाम हिन्दु धर्मावलम्बीका लागि पितृमोक्षको कामना गर्दै श्राद्ध, दान र तर्पण गर्ने पवित्र तीर्थस्थलका रूपमा परिचित छ । यहाँ श्राद्ध गरेमा २० पुस्तासम्मका पितृले मोक्ष प्राप्त गर्ने धार्मिक जनविश्वास छ । भारतस्थित उत्तरगयासम्म पुग्न नसक्ने श्रद्धालुहरू पनि नेपालकै उत्तरगयाधाममा आएर पितृकार्य गर्ने गर्छन् । बर्सेनि हजारौँ भक्तजन आउने यस क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिले धार्मिक गतिविधिसमेत प्रभावित भएका छन् ।

स्कन्ध पुराणको हिमवत्खण्डमा उल्लेखित धार्मिक मान्यताअनुसार त्रिशूली र फलाखु नदीको संगम क्षेत्रलाई पवित्र तीर्थस्थलका रूपमा लिइन्छ । बेत्रावती क्षेत्रमा पर्ने उत्तरगयाधामको महत्व धार्मिक आस्था र परम्परासँग मात्र सीमित छैन । नेपाल–तिब्बत युद्धका क्रममा विसं १८४९ असोज १७ गते भएको बेत्रावती सन्धिसँग पनि यो क्षेत्रको ऐतिहासिक सम्बन्ध जोडिएको छ ।

बालाचतुर्दशी, पौषे औँसी, रामनवमी, हरिबोधनी एकादशी, दशहरा, ऋषितर्पणी र कुशे औँसीलगायत पर्वमा यहाँ भक्तजनको मेला लाग्ने गरेको छ । विभिन्न तिथिमा पितृको नाममा श्राद्ध तथा पूजाआजा गर्न टाढाटाढाबाट तीर्थयात्री आउने भएकाले उत्तरगयाधाम धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यसमेत रहँदै आएको थियो ।

स्थानीय शशी डंगोलले बाढीबाट क्षतिग्रस्त उत्तरगयाधाम र बेत्रावती बजारलाई नयाँ सोच र योजनाका साथ पुनर्निर्माण गर्नुपर्ने बताउनुभयो । पुरातात्विक तथा सांस्कृतिक महत्व बोकेको यस क्षेत्रको पुनर्निर्माण गर्दा यसको मौलिकता जोगाउँदै व्यवस्थित विकासमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । यसका लागि युवा पुस्ताले पनि सक्रिय योगदान गर्नुपर्ने उहाँले बताउनुभयो ।

बाढीले भौतिक संरचनामा क्षति पुर्‍याए पनि उत्तरगयाधामको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचान जोगाउने चुनौती अहिले स्थानीय समुदायसामु छ । धर्मगुरुहरूको प्रतिबद्धता, स्थानीय तहको योजना र समुदायको सहभागिताबाट धामलाई पुनः जीवन्त बनाउने अपेक्षा गरिएको छ ।

हेमनाथ खतिवडा