धादिङ । २०८३ भदौ १७ गते


०८३ भदौ १० गतेको बिहान धेरैका लागि कहिल्यै नबिर्सिने कालो दिन बनेर आयो । रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याउँदै आएको विनाशकारी बाढीले धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा रहेको यस क्षेत्रकै पुरानो तथा प्रतिष्ठित श्री बागेश्वरी माध्यमिक विद्यालयलाई क्षतविक्षत बनाएको छ ।

त्रिशूली नदीको मुख्य बहावबाट करिब एक किलोमिटर टाढा रहेको विद्यालय परिसरमा समेत लेदोसहितको बाढी पस्ला र सिङ्गो विद्यालय डुबानमा पर्ला भन्ने कल्पना स्थानीयवासी, शिक्षक तथा विद्यार्थी कसैले गरेका थिएनन् । तर, महेशदोभानस्थित अम्लेश्वर महादेव मन्दिर क्षेत्रबाट उर्लिएर आएको त्रिशूलीको बाढीले महेशदोभानदेखि बैरेनी बजारसम्मका निजी तथा सार्वजनिक संरचनामा ठूलो क्षति पुर्‍यायो । त्यस क्रममा अम्लेश्वर महादेव मन्दिर, गुरुकुल विद्यापीठ, बैरेनी अस्पताल, आयुर्वेदिक अस्पताल र सक्सेस माध्यमिक विद्यालयसमेत प्रभावित भए ।

बाढीको खबर पाएलगत्तै ज्यान जोगाउन सुरक्षित स्थानतर्फ भागेका बालविकासदेखि कक्षा १० सम्मका विद्यार्थीले आफ्ना किताब, कापी, झोला, कलम र टिफिन कक्षाकोठामै छाड्न बाध्य भए । बाढी केही साम्य भएपछि विद्यालय फर्किँदा विद्यार्थीका पठनपाठनका सामग्री हिलो र लेदोमा पुरिएका थिए । विद्यालयका प्रधानाध्यापक ज्ञानु थापाका अनुसार विद्यालयमा अध्ययनरत करिब ४ सय विद्यार्थीका किताब, कापी, झोला र कलमलगायतका सामग्री बाढीले बगाएको वा पूर्ण रूपमा नष्ट गरेको छ ।

शिक्षक बासुदेव भण्डारीका अनुसार हिलोबाट खोस्रिएर निकालिएका अधिकांश किताब–कापी प्रयोग गर्नै नमिल्ने अवस्थामा छन् । आफ्ना पठनपाठनका सामग्री मात्र नभई वर्षौँदेखि जोगाउँदै आएको विद्यालय नै हिलोमा डुबेको देख्दा विद्यार्थीहरू भावविह्वल बनेका छन् । अहिले विद्यालयमा तत्काल पठनपाठन सुरु गर्न विद्यार्थीका लागि नयाँ वा प्रयोग गर्न मिल्ने पुराना पाठ्यपुस्तक जुटाउनु ठूलो चुनौती बनेको छ । विद्यालयले कक्षा तहअनुसार आवश्यक पाठ्यपुस्तक जुटाउन सहयोगका लागि शिक्षाप्रेमी, पूर्वविद्यार्थी, अभिभावक तथा सहयोगी मनहरूसँग समेत आग्रह गरेको छ ।

विद्यालयले जारी गरेको आधिकारिक क्षति विवरणअनुसार बाढीले विद्यालयका पाँचवटा भवनका तल्ला पूर्ण रूपमा पुरेको छ । कम्प्युटर ल्याबमा रहेका १६ थान कम्प्युटर सेट, कम्प्युटरका कुर्सी, डेस्क, प्रिन्टर, फोटोकपी मेसिन तथा तीन थान ल्यापटप पूर्ण रूपमा नष्ट भएका छन् । विज्ञान प्रयोगशालामा रहेका कक्षा १२ सम्मका जीवविज्ञान, रसायनविज्ञान र भौतिकविज्ञानका महँगा प्रयोगशाला सामग्री, दराज, टेबल तथा फर्निचरसमेत लेदोमा पुरिएका छन् । बाल कक्षासँगै रहेको नर्स कक्षामा राखिएका साना बालबालिकाका शैक्षिक सामग्री, ५० थान चकटी, लो–टेबल, बेड तथा प्राथमिक उपचारका उपकरण र औषधिसमेत बाढीले नष्ट गरेको छ ।

विद्यालयको खानेपानीका तीनवटा मोटर, पानी ट्याङ्की, करिब १०० मिटर पाइप र १०० मिटर बिजुलीको तारमा क्षति पुगेको छ । शौचालयमा समेत माटो र लेदो भरिएपछि विद्यालयको खानेपानी तथा सरसफाइ प्रणाली ठप्प भएको छ । बाढीले विद्यालयको क्यान्टिनमा रहेका दुईवटा फ्रिज, ग्यास सिलिन्डर, खाद्यान्न, करिब दुई हजार थान भाँडाकुँडा तथा स्टेशनरी सामग्रीसमेत नष्ट गरेको प्रधानाध्यापक थापाले बताउनुभयो । विद्यालय परिसरमा रहेको एक थान मोटरसाइकल, बालपार्क, इन्टरलक ब्लक तथा सरस्वती मन्दिरसमेत बाढीको चपेटामा परेका छन् । विद्यालयका कक्षाकोठा र केही संरचना बाहेक ठूलो मात्रामा भौतिक सामग्री क्षति भएको उहाँको भनाइ छ ।

बाढीपछि विद्यालय परिसर अहिले हिलो, लेदो र फोहोरको थुप्रोमा परिणत भएको छ । विद्यालयलाई पुरानै अवस्थामा फर्काउन केवल किताब–कापी उपलब्ध गराएर मात्र सम्भव हुने अवस्था छैन । कक्षाकोठाको मर्मत, फर्निचर, कम्प्युटर तथा प्रयोगशाला सामग्री, खानेपानी र शौचालयको पुनःव्यवस्था, विद्युत् प्रणालीको मर्मतलगायतका काम तत्काल गर्नुपर्ने अवस्था छ । बाढीले विद्यालयका विद्यार्थीको पढाइ मात्र प्रभावित गरेको छैन, कतिपय विद्यार्थीका घरसमेत बगाएको छ । आधा जति विद्यार्थीका परिवार बाढीबाट प्रत्यक्ष प्रभावित भएको विद्यालयको भनाइ छ । घर गुमाएका परिवारसँग अहिले लगाउने कपडा, ओछ्यान, भाँडाकुँडा र खाद्यान्नसमेतको अभाव छ ।

त्यसैले विद्यालयमा अध्ययनरत बालबालिकालाई विद्यालयको पोसाक, झोला, कापी–किताब उपलब्ध गराउनुका साथै उनीहरूका परिवारका आधारभूत आवश्यकता सम्बोधन गर्नु पनि उत्तिकै आवश्यक देखिएको छ । बाढीले आफ्नो बाल्यकाल बिताएको र ज्ञानको दीप बालेको विद्यालयलाई हिलोको टापुमा परिणत गरिदिएपछि विद्यालयका पूर्वविद्यार्थी हरि भण्डारीले व्यक्तिगत खर्चमा जेसिभी उपलब्ध गराएर विद्यालय परिसरबाट हिलो हटाउने काममा सहयोग गरिरहनुभएको छ । विद्यालय सफा गर्न नेपाली सेना, स्थानीयवासी, शिक्षक, अभिभावक तथा विभिन्न स्वयंसेवक समूहसमेत दिनरात खटिरहेका छन् ।

विद्यालयका पूर्वप्रधानाध्यापक राजनप्रसाद अधिकारीका अनुसार खानेपानी, विद्युत्, फर्निचर, प्रयोगशाला, कक्षाकोठा र अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेकाले सरसफाइ सकिएलगत्तै नियमित पठनपाठन सञ्चालन गर्न कठिन छ । “विद्यालय सफा गरेर मात्र पुग्दैन, विद्यार्थी बस्ने कक्षाकोठा, फर्निचर, खानेपानी, शौचालय, बिजुली र पढाइका सामग्री सबै पुनःव्यवस्थित गर्नुपर्छ,” उहाँले बताउनुभयो । बाढीपछि विद्यालयमा सरसफाइको काम तीव्र रूपमा भइरहेता पनि क्षतिको अवस्था हेर्दा विद्यालयलाई तत्कालै पुरानो अवस्थामा फर्काउने सम्भावना छैन ।

पुनर्निमार्णमा जुटेका व्यवस्थापन पक्षका अनुसार कम्तीमा एक महिना वा त्यसभन्दा बढी समय लाग्न सक्ने अवस्था देखिएको छ । विद्यालय परिसर सफा गरिसकेपछि पनि कक्षाकोठा तथा अन्य भौतिक संरचनाको मर्मत र आवश्यक सामग्री व्यवस्थापन गर्न थप समय र ठूलो आर्थिक स्रोत आवश्यक पर्नेछ । बाढीबाट त्रसित विद्यार्थी र अभिभावकमा अर्को बाढी आएमा फेरि विद्यालयबाट भाग्नुपर्ने हो कि भन्ने त्राससमेत कायमै छ । विद्यालयको भौतिक संरचना पुनर्निर्माणसँगै भविष्यमा यस्ता विपद्का समयमा विद्यार्थीलाई सुरक्षित राख्ने उपाय र विद्यालयको जोखिम न्यूनीकरणमा समेत ध्यान दिनुपर्ने देखिएको छ । चार दशकभन्दा लामो समयदेखि यस क्षेत्रका बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको बागेश्वरी माध्यमिक विद्यालय अहिले सहयोगको पर्खाइमा छ ।

विद्यालयमा पढ्ने सयौँ विद्यार्थीको भविष्यसँग जोडिएको शैक्षिक वातावरण पुनःनिर्माणका लागि स्थानीय सरकार, प्रदेश तथा सङ्घीय सरकार, पूर्वविद्यार्थी, शिक्षाप्रेमी, विभिन्न सङ्घसंस्था, निजी क्षेत्र र सहयोगी मनहरूको साथ आवश्यक रहेको विद्यालयले जनाएको छ । बाढीले विद्यालयको भवन र भौतिक सामग्रीमा मात्र क्षति पुर्‍याएको छैन, विद्यार्थीका सपना, परिवारका आशा र वर्षौँको शैक्षिक लगानीमाथि समेत गम्भीर चोट पुर्‍याएको छ । हिलो पन्छाउँदै विद्यालयको आँगन सफा गर्ने स्वयंसेवकदेखि आफ्ना विद्यार्थीका लागि किताब खोजिरहेका शिक्षकसम्म सबैको एउटै चाहना छ–बाढीले उजाडेको बागेश्वरी फेरि उस्तै गरी ज्ञानको उज्यालो बाँड्ने विद्यालय बनोस् ।   

सीताराम अधिकारी