रसुवा । २०८३ कात्तिक १२ गते

भोटेकोसी नदीमा ०८३ भदौ १० गते आएको विनाशकारी बाढीले सडक तथा पुल बगाएपछि आवतजावत ठप्प बनेको गोसाइँकुण्ड गाउँपालिका–३ स्थित ब्रिदिम जोड्न स्थानीयवासीले आफ्नै खर्चमा अस्थायी काठेपुल निर्माण सुरु गरेका छन् ।

गोसाइँकुण्ड गाउँपालिका–३ खामजिङका स्थानीय तेन्जेन लामा र दोर्जे लामाको व्यक्तिगत लगानीमा स्याफ्रुबेँसीदेखि ब्रिदिम जोड्ने काठेपुल निर्माण थालिएको हो । स्थानीयवासीको सक्रियतामा निर्माण कार्य तीव्र पारिएको र एक साताभित्र पुल तयार हुने अपेक्षा गरिएको तेन्जेन लामाले बताउनुभयो ।

बाढीले सडक तथा पुलमा क्षति पुर्‍याएपछि ब्रिदिमसहित आसपासका बस्तीको यातायात सम्पर्क विच्छेद भएको थियो । सडक सञ्जाल अवरुद्ध हुँदा स्थानीयवासीलाई दैनिक आवतजावत गर्न, खाद्यान्न तथा अत्यावश्यक सामग्री ओसारपसार गर्न र सेवा सुविधासम्म पुग्न कठिनाइ भएको छ । दुर्गम बस्तीमा सरकारी संयन्त्रबाट तत्काल सहयोग पुग्न समय लाग्ने भएपछि स्थानीयवासीले आफ्नै पहलमा पुल निर्माण थालेका हुन् ।

“सरकारले पूर्वाधार निर्माणको काम गरिरहे पनि दुर्गम क्षेत्रमा तत्काल राहत पुग्न कठिन देखियो,” तेन्जेन लामाले भन्नुभयो, “गाउँको समस्या समाधानका लागि हामीले आफ्नै व्यक्तिगत खर्चमा पुल निर्माण थालेका हौँ । यसमा स्थानीयवासीको पनि समन्वय छ । बाटो र पुलको अभावमा एक गाउँबाट अर्को गाउँ पुग्न कठिन भएकाले सेवाभावले यो काम गरेका हौँ ।”

पुल निर्माणपछि ब्रिदिमवासीको दैनिक आवतजावत सहज हुनुका साथै खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानीमा राहत पुग्ने स्थानीय दोर्जे लामाले बताउनुभयो । उहाँका अनुसार स्याफ्रुबेँसीदेखि ब्रिदिम जोड्ने बाटो लाङटाङ जाने पदयात्री तथा टिमुरे नाकातर्फ आवतजावत गर्ने सर्वसाधारणका लागि समेत उपयोगी हुनेछ ।

विपद्का बेला सरकारी सहयोगको प्रतीक्षा मात्रै नगरी स्थानीयवासी आफैँ जुटेर समस्या समाधानको प्रयास गर्नु सकारात्मक भएको स्थानीय दावा तामाङले बताउनुभयो । उहाँले स्थानीयको आपसी सहयोग र सक्रियताले दुर्गम बस्तीका नागरिकलाई राहत पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।

स्थानीयवासीका अनुसार उक्त स्थानमा काठेपुल निर्माण सम्पन्न भएपछि गोसाइँकुण्ड गाउँपालिका–२ र ४ का बासिन्दालाई समेत पैदल आवतजावत गर्न केही सहज हुनेछ । बाढीले क्षतिग्रस्त सडक तथा पुलको स्थायी पुनर्निर्माण नहुँदासम्म अस्थायी काठेपुलले स्थानीयको दैनिक जीवन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

हेमनाथ खतिवडा