धादिङ । २०८३ असोज २३ गते
भोटेकोसी–त्रिशूली नदीको बाढीले बेनीघाटरोराङ गाउँपालिका–७ चरौँदीस्थित बुद्धिविकास आधारभूत विद्यालयको भवन बगाएपछि १ सय १५ विद्यार्थीको पढाइ अस्थायी टेन्ट र साँघुरो कक्षामा सीमित भएको छ। विद्यालयको भवनसँगै कक्षा कोठा, शिक्षण सामग्री र खेल्ने ठाउँ गुमाएका बालबालिका भने अझै आफ्नै विद्यालयमा फर्किने आशामा छन्।
भदौ १० गते आएको बाढी विद्यालय नजिकसम्म पुगे पनि भवन जोगिएको थियो। तर भदौ १४ गते दोस्रोपटक आएको बाढीले विद्यालयको आँगन हुँदै धार परिवर्तन गर्यो। नदी विद्यालय परिसरबाटै बग्न थालेपछि तीनवटा कक्षा कोठासहित शिक्षण सामग्री बगायो। बालबालिका खेल्ने ठाउँसमेत बाँकी रहेन।
बाढी आउँदा विद्यार्थी विद्यालयमा थिएनन्। जोखिम बढेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति हुन पाएन। तर विद्यालय भवन र पढ्ने वातावरण भने बाढीले खोस्यो।

अहिले विद्यालय विशालटारस्थित क्याम्पस भवनमा सारेर सञ्चालन गरिएको छ। पर्याप्त कक्षा कोठा नहुँदा दुईवटा टेन्टमा समेत विद्यार्थी राखेर पढाउनुपर्ने अवस्था छ। कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा ५४ छात्रा र ६१ छात्र गरी १ सय १५ विद्यार्थी अध्ययनरत छन्। तीमध्ये २० जना दलित, ८२ जना जनजाति, नौ जना ब्राह्मण–क्षेत्री र चार जना अन्य समुदायका छन्। जनजाति विद्यार्थीमा चेपाङ बालबालिकाको संख्या पनि उल्लेख्य छ।
विद्यालयकी प्रधानाध्यापक मेनुका ढुंगानालाई विद्यालयको अवस्था देख्दा पीडा हुन्छ। तर विद्यार्थीको पढाइ रोक्न नहुने भएकाले वैकल्पिक स्थानमा कक्षा सञ्चालन गरिरहेको उहाँ बताउनुहुन्छ। “विद्यालयको अवस्था हेर्दा दुःख लाग्छ। बालबालिकाको पढाइ रोक्न भएन भनेर अहिले अर्को ठाउँमा कक्षा सञ्चालन गरिरहेका छौँ। सबैको चाहना आफ्नै ठाउँमा विद्यालय फर्कियोस् भन्ने हो,” उहाँ भन्नुहुन्छ।

विद्यालय विस्थापनको असर आर्थिक रूपमा कमजोर परिवारका बालबालिकामा अझ बढी परेको छ। अधिकांश अभिभावक ज्याला मजदुरी गरेर परिवार चलाउँछन्। दैनिक मजदुरीमा निर्भर परिवारका लागि छोराछोरीको पढाइसँगै घरखर्च धान्नु चुनौतीपूर्ण छ।
“हामी काम नगरे घरमा खानेकुरा आउँदैन। विद्यालयको कुरा सोच्न पनि समय पाउन गाह्रो हुन्छ,” मजदुरी गरिरहेका एक अभिभावकले इन्सेक प्रतिनिधिसँग भन्नुभयो।
आर्थिक रूपमा विपन्न परिवारका बालबालिका मात्र पढ्ने विद्यालय भएकाले पुनर्निर्माणमा पर्याप्त चासो नदिइएको अभिभावकहरूको गुनासो छ। “गरिबका छोराछोरी मात्रै पढ्ने विद्यालय भएपछि कसले हेर्छ र ?” एक अभिभावक प्रश्न गर्नुहुन्छ।

विद्यालय बाढीले उजाडे पनि विद्यार्थीको पढाइप्रतिको चाहना घटेको छैन। अस्थायी कक्षामा पढेर घर फर्कँदा उनीहरू बाटोबाटै पुरानो विद्यालयतिर हेर्छन्। भत्किएको भवन र फेरिएको नदीको धार देखिन्छ। त्यही भग्नावशेषमा उनीहरू आफ्नो कक्षा, साथी र शिक्षकलाई सम्झन्छन्।
“हाम्रो विद्यालय फेरि त्यहीँ बनाइदिए हुन्थ्यो,” विद्यार्थीहरूको एउटै चाहना छ।
बाढीपछि त्रिशूलीले धार परिवर्तन गरेकाले पुरानो विद्यालय क्षेत्र अझै जोखिममुक्त छैन। भत्किएको संरचनालाई नदीले निरन्तर कटान गरिरहेको छ। त्यसैले तत्काल पुरानै स्थानमा विद्यालय सञ्चालन गर्ने अवस्था छैन।
चाडपर्व नजिकिँदै गर्दा प्रभावित परिवारमा अर्को चिन्ता थपिएको छ। दैनिक मजदुरीबाट गुजारा चलाउने अभिभावकलाई दशैँका लागि छोराछोरीलाई नयाँ लुगा किनिदिनसमेत सहज छैन। चाडपर्व मनाउनेभन्दा दैनिक गुजारा चलाउने चिन्ता ठूलो छ। त्यसमाथि विद्यालय कहिले आफ्नै ठाउँमा फर्किन्छ भन्ने अनिश्चितताले अभिभावकलाई थप चिन्तित बनाएको छ।
बालबालिका भने पढाइ छुटाउन चाहँदैनन्। टाढाको अस्थायी कक्षाभन्दा आफ्नै गाउँ, आफ्नै साथी र आफ्नै कक्षाकोठा उनीहरूलाई प्रिय छ। उनीहरू फेरि आफ्नै विद्यालयमा फर्किएर पढ्ने दिनको प्रतीक्षामा छन्।
बेनीघाटरोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ले जोखिम हटाएर विद्यार्थीका लागि सुरक्षित वातावरण तयार भएपछि विद्यालय आफ्नै स्थानमा सञ्चालन गरिने बताउनुभयो। तत्काल जोखिम रहेकाले विद्यालयलाई विशालटारमा सारेर सञ्चालन गरिएको उहाँको भनाइ छ।
बाढीले विद्यालयको भवन, कक्षा कोठा र शिक्षण सामग्री बगायो। नदीको धार फेरियो, विद्यालयको ठाउँ फेरियो र विद्यार्थीको दिनचर्यासमेत बदलियो। तर उनीहरूको पढ्ने चाहना र भविष्यको सपना भने बाढीले बगाउन सकेको छैन– उनीहरू फेरि आफ्नै विद्यालय फर्किन चाहन्छन्।
सीताराम अधिकारी
HUMAN RIGHTS NEWS PORTAL