नुवाकोट । २०८३ कात्तिक १३ गते

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण विस्थापित भएका रसुवाका ९८ बालबालिकालाई नुवाकोटको विदुर नगरपालिका–५ मा रहेको गुडविल एकेडेमीले निःशुल्क शिक्षा प्रदान गरिरहेको छ।

एकेडेमीले रसुवाको उत्तरगया गाउँपालिका–१, खाल्टेबाट विस्थापित भएर आएका ४४ बालक र ५४ बालिकालाई विद्यालयले निःशुल्क अध्ययनको व्यवस्था मिलाएको हो। विद्यालयका प्रधानाध्यापक रामराजा कुमालका अनुसार कक्षा १ देखि ९ सम्म अध्ययनरत ती बालबालिकालाई विद्यालयमा अध्ययनरत रहुन्जेल निःशुल्क पठनपाठन गराइनेछ।

बाढीका कारण विस्थापित परिवार आर्थिक तथा सामाजिक समस्याबाट गुज्रिरहेका बेला बालबालिकाको शिक्षामा थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले निःशुल्क अध्ययनको व्यवस्था गरिएको प्रधानाध्यापक कुमालले बताउनु भयो । उहाँले निजी विद्यालयले पनि सामाजिक उत्तरदायित्व वहन गर्दै विपद्बाट प्रभावित परिवारलाई सहयोग गर्न सक्छन् भन्ने सन्देश दिनसमेत उक्त पहल गरिएको जानकारी दिनुभयो ।

“बाढीका कारण विस्थापित भएका बालबालिकाको शिक्षामा अवरोध नहोस् र उनीहरूका अभिभावकलाई आर्थिक भार कम होस् भन्ने उद्देश्यले निःशुल्क पढाउने व्यवस्था गरेका हौँ,” कुमालले भन्नुभयो ।

विद्यालयको क्षमता ४ सय विद्यार्थीको भएता पनि विस्थापित बालबालिकासहित हाल ४ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विद्यार्थीको सङ्ख्या बढेपछि कक्षाकोठा तथा अन्य भौतिक संरचनाको व्यवस्थापनमा चुनौती थपिएको विद्यालयले जनाएको छ।

थप विद्यार्थीलाई सहज रूपमा पठनपाठन गराउन विद्यालयले जग्गा भाडामा लिएर आवश्यक भौतिक संरचना निर्माण गर्ने तयारी गरेको प्रधानाध्यापक कुमालले बताउनु भयो ।

विपद्का कारण घरबास गुमाएका परिवारका बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्न विद्यालयले गरेको यो पहलले अभिभावकलाई राहत पुग्ने अपेक्षा गरिएको छ। विस्थापनका कारण बालबालिकाको पढाइ प्रभावित हुन नदिन स्थानीय तह, विद्यालय तथा अन्य सरोकारवाला निकायको सहकार्यसमेत आवश्यक देखिन्छ।

केदार ढकाल