रसुवा । २०८३ कात्तिक ९ गते
लेन्दे खोलाहुँदै भोटेकोशीमा ०८३ भदौ १० गते आएको विनाशकारी बाढीका कारण विस्थापित भई नुवाकोटको विदुर नगरपालिका–५, पिपलटार स्थित अस्थायी टेन्टमा बसोबास गर्दै आएका उत्तरगया–५ खाल्टे र आमाछोदिङ्मोका बाढी प्रभावित परिवारहरू अब स्थायी आवासका लागि सरकारले पहल थाल्नुपर्ने बताउछन् ।
उत्तरगया गाउँपालिका–१ को तिरु, गोगने लगायतका गाउँबाट ०७२ सालको भूकम्पका कारण विस्थापित भएका धेरै २ सय ६७ परिवार उत्तरगया गाउँपालिका–५ को खाल्टे बगरमा बस्दै आएका थिए ।
उनीहरुको एकीकृत आवास पुनर्निर्माणका लागि तल्लो पैरबेसीमा जग्गा व्यवस्थापन भएपनि थप जग्गा (नपुग) व्यवस्थापनमा भएको ढिलाइका कारण बस्ती सुरक्षित स्थानान्तरण हुन सकेको थिएन ।
११ वर्षअघिदेखि सरकारको प्राथमिकतामा नपरेका हामी विस्थापितहरुको बस्ती स्थानान्तरणमा सरकारले ढिलाइ गरेका कारण धेरैजना बाढीमा बेपत्ता हुन पुगेको र अब तत्काल विस्थापितहरुको बस्ती पुर्नस्थापना हुनुपर्ने पिपलटारमा बस्दै आएका प्रभावित छेकु लामाले बताउनुभयो ।
“सुरक्षित आवासको अधिकार पाउनु पर्यो । भूकम्प र बाढीको दोहोरो मारमा हामी अब फर्किन्नौँ नुवाकोटमै बस्छौँ,” विस्थापित छेकु लामाले भन्नुभयो । आफ्ना प्रियजन गुमाएको पीडादायी थलोमा पुनः फर्केर जाने आँट नभएको भन्दै उहाँले अब नुवाकोटमै स्थायी रूपमा बस्ने बताउनुभयो ।
भूकम्प पछि १२ वर्षसम्म विस्थापित जीवन बिताउँदै आएका छेकु लामा भदौ १० गतेको भीषण बाढीले आफ्ना आफन्त खोसेपछि अन्तत पुरानो ठाउँ कहिल्यै नफर्कने निष्कर्षमा पुगेका छन् । सबै सामाजिक संस्थाहरुलाइ अनुरोध गरेर दशैँ लगत्तै काम सुरु गरेर सकभर चाँडै सुरक्षित ठाउँमा पुनःस्थापना गर्नुपर्ने उहाँको माग छ ।







हेमनाथ खतिवडा
HUMAN RIGHTS NEWS PORTAL