मकवानपुर । २०८३ असोज २३ गते

रसुवा बाढीमा बेपत्ता भएका प्रदीप बर्तौलाको अवस्था अझै अज्ञात छ। ३५ दिनसम्म खोजी गर्दा पनि कुनै खबर नआएपछि परिवारले ०८३ असोज १३ गते कुशको शव बनाएर हिन्दु परम्पराअनुसार अन्त्येष्टि गर्‍यो। अहिले ११ वर्षीय कान्छा छोरा प्रयत्न बुवाको काजकिरियामा छन्। तर, बुवा अब कहिल्यै घर फर्कनुहुन्न भन्ने कुरा उनलाई थाहा छैन। उनी अझै बुवा फर्केर आउने आशामै छन्।

बाढी आउनुअघि प्रदीपले पत्नी पार्वता केसीसँग करिब पाँच मिनेट कुराकानी गर्नुभएको थियो। त्यसपछि फोन सम्पर्क विच्छेद भयो। केही समयमै रसुवामा बाढी आएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक हुन थालेपछि परिवारले प्रदीपलाई सम्पर्क गर्ने प्रयास गर्‍यो। तर, फोन लागेन। बाढीमा बेपत्ता भएकाहरूको सूचीमा उहाँको नामसमेत सार्वजनिक भएपछि परिवारले खोजीका लागि निरन्तर पहल गर्‍यो।

लामो समयसम्म खोजी गर्दा पनि शव फेला नपरेपछि परिवारले उहाँको अवस्थाबारे कुनै जानकारी पाउन सकेन। अन्ततः ३५ दिनसम्म प्रतीक्षा गर्दा पनि खबर नआएपछि परिवारले धार्मिक परम्पराअनुसार अन्त्येष्टि गर्ने निर्णय गरेको हो।

प्रदीप सम्पर्कविहीन भएपछि परिवारले कान्छा छोरा प्रयत्नको व्रतबन्धसमेत गरेर काजकिरिया सुरु गरेको हो। उहाँका जेठा छोरा प्रवेश वैदेशिक रोजगारीका लागि बाहिर छन्।

प्रदीपका कान्छा भाइ ध्रुव बर्तौलाका अनुसार नेपाली सेनाका अधिकारीहरूसँग छलफल गरेपछि ३५ दिनसम्म प्रतीक्षा गरेर अन्त्येष्टि गरिएको हो। परिवारले २०/२२ दिनमै कुशको शव बनाएर अन्त्येष्टि गर्ने सोच बनाएको भए पनि सेनाका उच्च अधिकारीहरूले ३५ दिन कुर्न सुझाव दिएको उहाँले बताउनुभयो।

“हामीले त २०/२२ दिनमै कुशको शव बनाएर अन्त्येष्टि गरौँ भन्ने सोचेका थियौँ। तर, नेपाली सेनाका माथिल्लो तहका हाकिम साबहरूसँग छलफल गर्दा ३५ दिन कुर्नुस् भन्नुभयो। त्यसपछि मात्रै किरिया सुरु गरेका हौँ,” ध्रुवले भन्नुभयो।

२०५८ सालमा नेपाली सेनामा भर्ती हुनुभएका प्रदीप श्रीनाथ गणमा कार्यरत हुनुहुन्थ्यो। बाढीमा बेपत्ता भएपछि शव फेला नपरे पनि परिवारले उहाँको अन्त्येष्टि गरेको हो। अन्त्येष्टिका क्रममा नेपाली सेनाको टुकडीले सैनिक सम्मानसहित सलामी दिएको थियो।

थाहा नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर विष्टका अनुसार बाढी तथा विपद्का क्रममा थाहा नगरपालिकाका २० जना सम्पर्कविहीन भएका थिए। तीमध्ये अधिकांशका परिवारले आफ्नो संस्कारअनुसार काजकिरिया सुरु गरिसकेको उहाँले बताउनुभयो।

नगरप्रमुख विष्टका अनुसार नगरपालिकाले विपद्का बेला सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारदेखि परिवारको संस्कार कार्यसम्म सहकार्य गर्दै आएको छ। खोजीका लागि पीडित परिवारलाई सवारीसाधनको व्यवस्था गर्नुका साथै प्रतिपरिवार २० हजार रुपैयाँ सहयोग गरिएको थियो।

त्यसैगरी, संस्कार सम्पन्न गरी मृत्यु दर्ता भएपछि प्रतिपरिवार एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय नगर कार्यपालिकाले गरेको नगरप्रमुख विष्टले जानकारी दिनुभयो।

मञ्जिता मैनाली