नुवाकोट । २०८३ असोज १९ गते
भोटेकोशी हुँदै त्रिशूली नदीमा ०८३ भदौ १० गते आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ की प्रमिला श्रेष्ठको परिवारलाई आफन्त गुमाउने पीडासँगै आर्थिक संकटमा धकेलेको छ। बाढीपछि सवारी चालक श्रीमान् अरुण कँडेल सम्पर्कविहीन भएपछि ९० वर्षीय ससुरा, सासू, एक छोरा र एक छोरीको जिम्मेवारी प्रमिलाको काँधमा आएको छ।
अरुण सवारी चलाएर परिवारको गुजारा चलाउँदै आउनुभएको थियो। बाढी आउनुअघि सवारी चलाउने क्रममा उहाँ रसुवा पुग्नुभएको थियो। त्यसपछि सम्पर्कविहीन भएका अरुणको अवस्था अझै अज्ञात छ। श्रीमान्को खोजीको चिन्तासँगै प्रमिलालाई परिवारको दैनिक खर्च कसरी धान्ने भन्ने अर्को चिन्ताले सताएको छ।
सहकारीमा काम गरेर पाउने मासिक १० हजार रुपैयाँले परिवारको खर्च धान्न मुस्किल छ। त्यसमाथि अरुणले बैंक तथा व्यक्तिबाट ऋण लिएर किनेको सवारीको किस्ता तिर्नुपर्ने दायित्वसमेत परिवारमाथि थपिएको छ। ‘श्रीमान् फर्केर आउनुहुन्छ भन्ने आशा अझै छ। तर, घरमा खाने–लाउने समस्या सुरु भइसकेको छ,’ प्रमिला भन्नुहुन्छ, ‘सरकारले सम्पर्कविहीन चालकका परिवारलाई पनि सहज रूपमा बाँच्ने आधार बनाइदियोस्।’
बाढीमा बेपत्ता भएका चालकका परिवार आफन्त गुमाएको पीडासँगै ऋण र जीविकाको समस्यामा परेका छन्। सवारी चलाएर परिवार पाल्ने व्यक्ति नै बेपत्ता भएपछि बालबालिकाको शिक्षा, वृद्ध अभिभावकको हेरचाह, घरखर्च र सवारीको ऋण तथा किस्ता तिर्नुपर्ने दायित्व परिवारकै काँधमा आएको छ।
सरकारले बाढीपीडितका लागि राहत, पुनःस्थापना र क्षतिपूर्तिका कार्यक्रम अघि बढाए पनि बेपत्ता भएका चालक तथा उनीहरूमा आश्रित परिवारका लागि स्पष्ट व्यवस्था देखिएको छैन। प्रमिला भन्छिन्, ‘हामीलाई ठूलो क्षतिपूर्ति मागेका होइनौँ, परिवारलाई सहज तरिकाले बाँच्ने आधार सरकारले बनाइदिए पुग्छ।’
भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता भएका चालकका परिवारको आर्थिक संकटलाई तत्काल सम्बोधन गर्नुपर्ने माग उठेको छ। समयमै राहत र जीविकोपार्जनको व्यवस्था हुन नसके आफन्तको खोजीसँगै परिवारको भविष्यको चिन्ता पनि थप गहिरिने देखिन्छ।
केदार ढकाल
HUMAN RIGHTS NEWS PORTAL