धादिङ । २०८३ असोज २ गते
बाढीले गुरुकुलको भवन ध्वस्त बनाएको तीन साताभन्दा बढी समय बितिसक्दा पनि सरसफाइ र उद्धारको काम अघि बढ्न नसक्दा धादिङको गल्छी गाउँपालिका–६ महेशदोभानस्थित अम्लेश्वर गुरुकुल संस्कृत वेद विद्याश्रममा अध्ययनरत ३२ जना बटुकको शिक्षाको अधिकार प्रभावित भएको छ। गुरुकुलको भग्नावशेषमा अहिले धान, मकै र जमरा उम्रिएका छन् भने किताब, कपडा, ट्याङ्का र किताबका झोला लेदोमै छरिएका छन्। भदौ १० गते बिहान आएको बाढीले गुरुकुलको भवनसहित फर्निचर, पाठ्यपुस्तक, कम्प्युटर, ल्यापटप, प्रशासनिक कागजात र खाद्यान्नलगायतका सामग्रीमा क्षति पुर्याएको थियो। भवन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि बटुकहरूको पठनपाठन र बसोबास दुवै अनिश्चित बनेको छ। बाढीपछि गुरुकुल परिसरमा थुप्रिएको लेदो र भग्नावशेष अहिलेसम्म हटाइएको छैन। भग्नावशेषभित्र रहेका सामग्रीको अवस्था पहिचान गरी सुरक्षित गर्ने प्रयाससमेत हुन सकेको छैन। बचेका शैक्षिक सामग्री तत्काल निकाल्न नसक्दा विद्यार्थीले प्रयोग गर्ने किताब, पोसाक र अन्य सामग्री थप नष्ट हुने जोखिममा छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फानारायण रिमालका अनुसार गुरुकुल कहाँ र कसरी सञ्चालन गर्ने भन्ने विषयमा अझै टुङ्गो लाग्न सकेको छैन। ‘भवन छैन, सामग्री भग्नावशेषमै छन्। सरसफाइ गरेर बचेका सामग्री जोगाउने काम पनि भएको छैन,’ उहाँले भन्नुभयो, ‘अब विद्यार्थीको पढाइ कसरी निरन्तरता दिने भन्ने अन्योल छ।’
२०७४ सालमा स्थापना भएको गुरुकुलमा कक्षा ६ देखि ८ सम्म ३२ जना बटुक अध्ययनरत छन्। पाँच जना शिक्षक र एक जना भान्छे कार्यरत गुरुकुल सञ्चालनका लागि वार्षिक करिब ३२ लाख रुपैयाँ खर्च हुने गरेको छ। गत वर्ष एसईईमा सहभागी १० जना विद्यार्थीमध्ये आठ जना उत्तीर्ण भएका थिए। यस वर्ष चार जना विद्यार्थी एसईईको तयारीमा थिए। तर बाढीपछि अध्ययन गर्ने ठाउँ, बस्ने व्यवस्था र आवश्यक शैक्षिक सामग्रीसमेत नहुँदा उहाँहरूको पढाइ प्रभावित भएको छ। विपद्का कारण बालबालिकाको शिक्षा निरन्तरता रोकिँदा उहाँहरूको शैक्षिक भविष्यमा समेत असर पर्न सक्ने देखिएको छ। गुरुकुलमा अध्ययनसँगै विद्यार्थीको आवास र खानाको व्यवस्था हुने गरेको थियो। बाढीले भवन र भौतिक सामग्री नष्ट गरेपछि विद्यार्थीको आवासीय व्यवस्थासमेत संकटमा परेको छ। तत्काल वैकल्पिक कक्षा र बसोबासको व्यवस्था नगर्ने हो भने बटुकहरूलाई विद्यालय शिक्षाबाटै टाढा हुनुपर्ने अवस्था आउन सक्ने विद्यालय पक्षको भनाइ छ। गुरुकुल शिक्षा वैदिक ज्ञान, संस्कृत भाषा, अनुशासन, नैतिक मूल्य मान्यता र संस्कृतिको संरक्षणसँग जोडिएको छ। इस किसिमका शैक्षिक संस्थामा अध्ययनरत बालबालिकाको शिक्षा निरन्तरताका लागि राज्य र सम्बन्धित स्थानीय तहले विपद्पछिको पुनर्स्थापनालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ। बाढीले महेशदोभान बजारसहित आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। ऐतिहासिक अम्लेश्वर महादेव मन्दिर, गुरुकुल, वागेश्वरी माध्यमिक विद्यालय र बैरेनी अस्पतालसमेत प्रभावित भएका छन्। विपद्पछिको पुनर्निर्माणसँगै बालबालिकाको शिक्षा र सुरक्षित बसोबासको अधिकार सुनिश्चित गर्न तत्काल वैकल्पिक व्यवस्था र गुरुकुल पुनः सञ्चालनका लागि पहल आवश्यक देखिएको छ।











सिताराम अधिकारी
HUMAN RIGHTS NEWS PORTAL