धादिङ । २०८३ भदौ १६ गते
भोटेकोशीमा ०८३ भदौ १० गते आएको बाढीबाट गल्छीमा २ सय ७९ परिवार विस्थापित भएका छन् भने १ सय १४ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बाढीका कारण २ ओटा पक्की र ६ ओटा झोलुङ्गे पुल बगेका छन् । बाढीपछि गाउँपालिकाले प्रभावित परिवारलाई प्रतिपरिवार १० हजार रुपियाँका दरले राहत उपलब्ध गराएको छ । घरघरमा चामल पुगेको छ भने विभिन्न संघसंस्था र व्यक्तिले दालमोठ, चिउरा तथा भाँडाकुँडा पनि वितरण गरेका छन् । तर, बैरेनीवासीका लागि अहिले खाद्यान्नभन्दा खानेपानी ठूलो समस्या बनेको छ । बाढीले बैरेनी बजारका खानेपानीका धारा, पाइप र वितरण लाइनमा क्षति पुर्याएपछि गत भदौ १० गतेदेखि पानी आपूर्ति बन्द छ । बैरेनी बजार खानेपानी, जिन्टेटार डिप बोरिङ र जुडिखोला–बैरेनी बजार खानेपानी आयोजनाबाट पानी उपभोग गर्दै आएका कम्तिमा २ सय ५० घरधुरी प्रभावित भएका छन् । पानी नहुँदा पिउन, खाना पकाउन, शौचालय प्रयोग गर्न र सरसफाइ गर्न समस्या भएको स्थानीयवासीले बताएका छन् । लामो समय पानीको अभाव रहँदा दूषित पानी र अस्वच्छ वातावरणका कारण रोग तथा महामारी फैलिन सक्ने जोखिमसमेत बढेको छ ।

बैरेनी बजार खानेपानी आयोजनाका अध्यक्ष गोकर्ण दहालका अनुसार पानी सञ्चालनका लागि कनेक्सन जोड्ने र क्षतिग्रस्त संरचना मर्मत गर्ने काम सुरु गरिएको छ । तर, बाढीले धेरै ठाउँमा क्षति पुर्याएकाले तत्काल पानी सञ्चालन गर्न कठिन रहेको छ । गल्छी गाउँपालिकाकी उपाध्यक्ष भाइराजी तिवारीले खानेपानीका पाइप, धारा र वितरण लाइन क्षतिग्रस्त भएको जानकारी तीन दिनअघि नै सम्बन्धित निकायलाई गराइएको बताउनुभयो।
स्थानीयवासीले राहतका रूपमा चामल, दालमोठ र चिउरा पाए पनि अब तत्काल सुरक्षित खानेपानीको व्यवस्था गरिदिन माग गरेका छन्। “चामल–दालमोठ होइन, अब हामीलाई खानेपानी चाहियो,” बैरेनीवासीको साझा माग छ ।





सीताराम अधिकारी
HUMAN RIGHTS NEWS PORTAL