जुम्ला । २०८३ असोज २ गते

रसुवा भोटेकोशीमा ०८३ भदौ १० गते आएको बाढीमा परेर बेपत्ता भएका चन्दननाथ नगरपालिका–१० बोहोरागाउँ जुम्लाका  भानु देवकोटाको असोज १ गते कुशको शव बनाएर परिवारजनले दानसाँघुमा सद्गत गरेका छन् ।

बेपत्ता भएको तीन हप्तातासम्म जीवित वा मृत केही भेटाउन नसकेपछि निराश भएका आफन्तले  कुशको शव बनाएर धार्मिक संस्कार अनुसार सद्गत गरेका हुन् ।

समाजसेवी देवकोटा पर्यटन व्यवसायी हुनुहुन्थ्यो । उहाँ पर्यटकसहित गोसाई कुण्ड जानका लागि रसुवा पुग्नु भएको थियो । भदौ ९ गतेसम्म फोन सम्पर्कमै रहनुभएका देवकोटा भदौ १० गते यता सम्पर्कविहिन हुनुभएको हो ।

प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईंका अनुसार भोटेकोशी बाढीमा परी जुम्लाका ६४ जना अहिलेसम्म सम्पर्कमा आउन सकिरहेका छैनन् । कामका सिलसिलामा रसुवा पुगेका पातारासीका ४९ जना, गुठिचौरका ९ जना, चन्दननाथका पाँच जना र सिजाका एक जना अझै सम्पर्कविहीन छन् ।

बाढीबाट बेपत्ता भएका परिवारको डिएएन परीक्षणका लागि पातारासी गाउँमा ३२ जना र गुठीचौर गाउँपालिकामा ६ जनाको नमुना रगत संकलन भएको जनस्वास्थ्य कार्यालय, जुम्लाका प्रमुख किरण शर्माले बताउनु भयो ।

मानदत्त रावल