धादिङ । २०८३ भदौ १६ गते

भोटेकोशी नदिमा आएको बाढीका कारण धादिङमा फेला परेका र पहिचान नखुलेका शव तथा मानव शरीरका अंगहरू धादिङको गजुरी गाउँपालिका–५ स्थित ठूलो सामुदायिक वन क्षेत्रमा ०८३ भदौ १५ गते व्यवस्थापन गरिएको छ ।

बाढीपछि विभिन्न स्थानबाट संकलन गरिएका शवहरू गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएका थिए । शव कुहिन थालेपछि संक्रमण तथा महामारी फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक कानुनी प्रक्रिया पूरा गरी पहिचान नखुलेका शव तथा शरीरका अंगहरू सामूहिक रूपमा व्यवस्थापन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, धादिङका सूचना अधिकारी डीएस्‌पी प्रकाश दाहालका अनुसार व्यवस्थापनअघि शव तथा शरीरका अंगहरूको मुचुल्का तयार गरी पोष्टमार्टम तथा डीएनए नमुना संकलन गरिएको थियो । त्यसपछि शव व्यवस्थापन कार्यविधिअनुसार खाडल खनी शवहरूलाई छुट्टाछुट्टै नम्बर दिएर राखिएको छ ।

यस क्रममा सग्लो शरीर भएका दुई शव र शरीरका विभिन्न अंग भएका २१ शव गरी जम्मा २३ शव तथा अंग व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । शवहरू भविष्यमा सहज रूपमा पहिचान गर्न सकिने गरी नम्बरिङ गरेर राखिएको छ ।

डीएसपी दाहालका अनुसार डीएनए परीक्षणबाट कुनै शवको पहिचान खुलेमा सम्बन्धित परिवारलाई जानकारी गराई प्रचलित अन्तिम संस्कारअनुसार लैजान सक्ने व्यवस्था मिलाइएको छ ।

यसअघि पनि बाढीबाट संकलन गरिएका २७ शव पोखरा र ६ शव काठमाडौं पठाएर व्यवस्थापन गरिएको थियो । गजुरीमा रहेका पहिचान नखुलेका शव तथा अंगसमेत व्यवस्थापन गरिएपछि बाढीबाट संकलन भएका सम्पूर्ण शवको व्यवस्थापन कार्य पूरा भएको प्रहरीले जनाएको छ ।

सीताराम अधिकारी