धादिङ । २०८३ भदौ २६ गते

भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको बाढीले धादिङमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ । बाढीका कारण जिल्लामा ५ सय १७ परिवार विस्थापित भएका छन् । तीमध्ये गल्छी गाउँपालिकामा २ सय ७९, गजुरी गाउँपालिकामा २ सय १६, बेनिघाट रोराङ गाउँपालिकामा २० र सिद्धलेक गाउँपालिका–७ मा दुई परिवार विस्थापित भएका छन् । धादिङमा १ सय १४ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने दुई पक्की पुल र ६ झोलुङ्गे पुल बाढीले बगाएको छ । बाढीपछि त्रिशूली नदी आसपासका महेशदोभान, बैरेनी, घाटबेँसीलगायतका क्षेत्रमा घर तथा बस्ती डुबान र कटानमा परेका छन् । सडकका विभिन्न खण्डमा पहिरो तथा कटान भएपछि जिल्लाभित्र तथा काठमाडौँतर्फको आवागमनसमेत प्रभावित भएको छ । जोखिमयुक्त बस्तीमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने र विस्थापित परिवारलाई दीर्घकालीन रूपमा पुनर्स्थापना गर्ने चुनौतीसमेत थपिएको छ । स्थानीयलाई तत्काल राहतसँगै खानेपानी, सडक, विद्युत्, सुरक्षित आवास र जीविकोपार्जनको लगायतको उपयुक्त व्यवस्थाको आवश्यकता छ । बाढीका कारण घरवार र परिवार गुमाई विस्थापित भएका व्यक्तिहरुको व्यवस्थापनका लागि धादिङमा दुई वटा होल्डिङ सेन्टर सञ्चालनमा रहेका छन् । ती मध्ये गजुरी गाउँपालिका–५, गलौदी स्थित होल्डिङ सेन्टरमा ४६ परिवारका १ सय ४४ जना र गजुरी गाउँपालिका–६, रातमाटे स्थित होल्डिङ सेन्टरमा ३८ परिवारका ९८ जनाले अस्थायी आश्रय लिइरहेका छन् होल्डिङ सेन्टर महिला, बालबबालिका, अपाङ्गता भएका व्यक्ति, सुत्केरी र  गर्भवती महिला समेत छन् ।  होल्डिङ सेन्टरहरुमा शैचालय, खानेपानी , बालबालिकाहरुको शिक्षा, विद्युत, सुरक्षित आवास लगायतका समस्या रहेका छन् । धादिङका दुई होल्डिङ सेन्टरमा टेन्ट मुनी नागरिकहरु बस्न बाध्य छन् ।

सीताराम अधिकारी