काठमाडौँ । २०८३ असाज १७ गते

भोटेकोशी नदीमा आएको बाढीपछि अभिभावक गुमाएका तथा परिवारसँग सम्पर्कविहीन भएका बालबालिकाको खोजी र संरक्षणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँले विवरण संकलन थालेको छ ।

प्रशासनले रसुवा र नुवाकोट स्थायी घर भई काठमाडौँमा अध्ययनरत र बाढीपछि अभिभावक गुमाएका वा परिवारसँग सम्पर्क टुटेका बालबालिकाको विवरण सात दिनभित्र उपलब्ध गराउन विद्यालय तथा सम्बन्धित संघसंस्थालाई निर्देशन दिएको छ ।

प्रशासनका अनुसार छात्रावास तथा बाहिर बसेर अध्ययन गरिरहेका बालबालिकाका साथै बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी काठमाडौँ ल्याइएका अभिभावकविहीन बालबालिकाको समेत विवरण संकलन गरिनेछ ।

सरकारी तथा निजी विद्यालय, आवासीय विद्यालय, गुम्बा, अनाथालय, बालगृह, अस्थायी आवास तथा बालबालिकालाई आश्रय दिइरहेका सामाजिक संस्थालाई विवरण उपलब्ध गराउन भनिएको छ ।

कानुनी प्रक्रिया पूरा नगरी बालबालिकालाई आफूखुसी राख्ने, लुकाउने, प्रभावमा पार्ने वा प्रलोभनमा पार्ने कार्य नगर्न प्रशासनले सचेत गराएको छ । त्यस्तो कार्य भएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जारी गरेको सूचनामा सात दिनभित्र जिल्ला प्रशासन कार्यालय काठमाडौँमा विवरण बुझाउन भनिएको छ ।

बाढीपछि परिवारबाट छुट्टिएका तथा संरक्षणको आवश्यकता रहेका बालबालिकाको पहिचान गरी सुरक्षा, संरक्षण र परिवारसँग पुनर्मिलनको प्रक्रिया व्यवस्थित गर्न विवरण संकलन गरिएको प्रशासनले जनाएको छ ।

पार्बती साउद