काठमाडौँ । २०८३ कात्तिक २३ गते
विनाशकारी भोटेकोशी बाढीमा परी अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका बालबालिकालाई उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति उपलब्ध गराइने भएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयले ०८३ कार्तिक २१ गते मन्त्रीस्तरीय निर्णय गर्दै बाढीपीडितका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क अध्ययनको व्यवस्था मिलाउने प्रक्रिया अघि बढाएको हो ।
मन्त्रालयका अनुसार पहिलो चरणमा २७ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइनेछ । त्यसपछि थप विद्यार्थीको पहिचान गरी चरणबद्ध रूपमा छात्रवृत्ति वितरण गरिनेछ ।
यसअघि मन्त्रालयले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना सञ्चालन निर्देशिका, २०८३’ स्वीकृत गरी अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानलाई विद्यालय तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको थियो ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय तहसँगै उच्च शिक्षामा समेत छात्रवृत्तिको व्यवस्था गर्न निर्णय गरिएको बताउनुभएको छ ।
मन्त्री पोखरेलको सचिवालयका अनुसार निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको अभिलेख शिक्षा विभागले राख्नेछ । त्यसका लागि सम्बन्धित छाता संस्था र स्थानीय तहलाई पत्राचार गरिनेछ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका हकमा सम्बन्धित स्थानीय तहलाई पत्राचार गरिने मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई विश्वविद्यालय तथा क्याम्पसमा नियमित रूपमा उपलब्ध हुने छात्रवृत्ति कोटामा थप गरी समावेश गर्न निर्देशन दिइएको छ ।
यसका लागि विश्वविद्यालय अनुदान आयोगमार्फत आवश्यक व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको यो निर्णयसँगै भोटेकोशी बाढीमा अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानले विद्यालय तहदेखि उच्च शिक्षासम्म निःशुल्क अध्ययनको अवसर पाउने भएका छन् ।
पार्बती साउद
HUMAN RIGHTS NEWS PORTAL