बर्दिया । २०८३ असोज २ गते
भोटेकोशीमा आएको बाढीपछि भदौ १० गतेदेखि सम्पर्कविहीन रहेका बर्दियाका चार जनाको परिवारले कुशको शव बनाएर असोज १ गते दाहसंस्कार गरेका छन्।
बाँसगढी नगरपालिका–८ का ३० वर्षीय सोमनाथ पौडेल, उहाँको २७ वर्षीया पत्नी तारा उपाध्याय ३ वर्षीया छोरी शिक्षा पौडेल र छोरा शिवान पौडेल भदौ १० गते नुवाकोटबाट सम्पर्कविहीन भएका थिए। सम्पर्कविहीन भएको व्यक्तिको लामो समयसम्म जानकारी प्राप्त नहुँदा उहाँहरूको परिवारले कुशको शव बनाएर धार्मिक विधि अनुसार दाहसंस्कार गरेका हुन्।
नुवाकोटमा कामका लागि पुग्नु भएका पौडेल दम्पती सहित छोराछोरी सम्पर्कविहीन भएका थिए। परिवारले खोजी तथा पहिचानका लागि सम्बन्धित निकायमा जानकारी गराए पनि उहाँहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन नसकेपछि परिवारले दाहसंस्कार गरिएको जनाएको छ।
भोटेकोशी बाढीपछि बर्दियाबाट कामका लागि नुवाकोट तथा आसपासका क्षेत्रमा पुगेका ७६ व्यक्ति सम्पर्कविहीन भएका थिए। सम्पर्कविहीनको खोजी तथा पहिचानका लागि स्थानीय प्रशासनले आफन्तबाट डीएनए नमुना संकलन समेत गरेको छ ।


प्रकाश पौडेल
HUMAN RIGHTS NEWS PORTAL