पाल्पा । २०८३ असोज ७ गते
भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएका पाल्पाका चार जनाको तीन सातासम्म अवस्था पत्ता नलागेपछि परिवारले कुशको शव बनाएर हिन्दु संस्कारअनुसार अन्त्येष्टि गरेका छन् ।
बाढीमा बेपत्ता भएका रिब्दीकोट गाउँपालिका–३ का विकास नेपाल, तिनाउ गाउँपालिका–२ झ्याङ्लाका ३४ वर्षीय रमेश थापा, तानसेन नगरपालिका–७ लामडाँडाकी ३५ वर्षीया निलम कार्की र तानसेन नगरपालिका–३ बसन्तपुरका तिलबहादुर रानाको परिवारले अन्तिम संस्कार गरेका हुन् ।
रिब्दीकोट–३ कैलाशनगरका विकास नेपालको भदौ २९ गते रिडीस्थित कालीगण्डकी नदीमा कुशको शव बनाएर अन्त्येष्टि गरिएको आफन्त निलम गौतमले बताउनुभयो । रसुवास्थित जलविद्युत् आयोजनामा टिपर चालकका रूपमा कार्यरत नेपाल भोटेकोशी बाढीपछि सम्पर्कविहीन हुनुभएको थियो ।
तिनाउ गाउँपालिका–२ का रमेश थापाको पनि बेपत्ता भएको २४ दिनपछि परिवारले अन्तिम संस्कार गरेको छ । दोभान खोलास्थित बञ्चरे पहाड घाटमा कुशको शव बनाएर अन्त्येष्टि गरिएको परिवारले जनाएको छ ।
रसुवास्थित लाङटाङ हाइड्रोपावरमा मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थापा बाढीपछि सम्पर्कविहीन हुनुभएको थियो । उहाँको खोजीका लागि परिवार चितवन, गैँडाकोट, गोरखा, कास्की, नुवाकोट र काठमाडौंसम्म पुगेको थियो । कतैबाट पनि जानकारी नआएपछि तथा सम्बन्धित कम्पनीबाट समेत अवस्था पुष्टि भएपछि काजकिरिया सुरु गरिएको उहाँका ७५ वर्षीय बुबा जुद्धबहादुर थापाले बताउनुभयो ।
तानसेन–७ लामडाँडाकी निलम कार्कीको पनि कालीगण्डकी नदीमा कुशको शव बनाएर अन्त्येष्टि गरिएको परिवारले जनाएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जमा रेन्जरका रूपमा कार्यरत कार्की बाढीपछि सम्पर्कविहीन हुनुभएको थियो । उहाँका बुबा सूर्यबहादुर कार्की किरियामा बस्नुभएको छ ।
त्यस्तै, तानसेन–३ बसन्तपुरका तिलबहादुर रानाको पनि कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ । राना स्याङ्जास्थित कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रमा कार्यरत हुनुहुन्थ्यो । भोटेकोशी बाढीपछि पाल्पाका ११ जना सम्पर्कविहीन भएकोमा नेपाल प्रहरीमा कार्यरत तानसेनका दीपेन्द्र विष्टको शव मात्र पहिचान भएको छ ।
बाढीपछि सम्पर्कविहीन रैनादेवी छहरा गाउँपालिका–१ का सशस्त्र प्रहरी जवान आनबहादुर कुमाल, रिब्दीकोट–५ का कृष्णबहादुर बस्याल, बगनासकाली गाउँपालिका–५ का किशोर न्यौपाने क्षेत्री, निस्दी–३ का बोमबहादुर सोमै तथा रामपुर नगरपालिका–७ का रामु सुति र अमृत सुति अझै फेला पर्नुभएको छैन । उहाँहरूका परिवारले आफन्त फर्केर आउने आशामा खोजीको परिणाम पर्खिरहेका छन् ।
सम्पर्कविहीन नागरिकको खोजीका लागि स्थानीय प्रशासनले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गरिरहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताउनुभयो । बाढीमा आफन्त गुमाएका परिवारले लामो समयसम्म खोजीको परिणाम पर्खनुपरेको र अवस्था यकिन हुन नसक्दा पीडित परिवार थप अन्योलमा परेका छन् ।
यज्ञमूर्ति तिमिल्सिना
HUMAN RIGHTS NEWS PORTAL