धादिङ । २०८३ असोज १२ गते

भोटेकोशी बाढीपछि त्रिशूली नदीमा आएको बाढीले गल्छी गाउँपालिकाको सिँचाइ क्षेत्रमा पुर्‍याएको क्षतिको अध्ययन तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आवश्यक विवरण संकलन गर्न इन्जिनियर टोलीले स्थलगत अध्ययन सुरु गरेको छ।

राष्ट्रिय योजना आयोगको तर्फबाट जलस्रोत तथा सिँचाइ विभागका सिडिई इजी जोशीको नेतृत्वमा आएको इन्जिनियर टोलीसँग गल्छी गाउँपालिकामा क्षतिको अवस्था, पुनर्निर्माणको आवश्यकता तथा आगामी योजनाका विषयमा छलफलसमेत भएको छ।

छलफलमा गाउँपालिका अध्यक्ष केदार खतिवडा, प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलाल, वडा नम्बर १ का अध्यक्ष यदु कुमार खतिवडा, वरिष्ठ इन्जिनियर राम प्रसाद पौडेल, विपद् व्यवस्थापन शाखा प्रमुख राम प्रसाद ज्ञवालीलगायतको सहभागिता रहेको थियो।

बाढीका कारण त्रिशूली नदी आसपासका सिँचाइ आयोजना तथा संरचनामा पुगेको क्षतिको वास्तविक अवस्था पहिचान गरी पुनर्निर्माणका लागि आवश्यक प्राविधिक विवरण तयार गर्ने उद्देश्यले टोली गल्छी आएको गाउँपालिकाले जनाएको छ। स्थलगत अध्ययनपछि क्षतिको विवरण र पुनर्निर्माणका लागि आवश्यक स्रोत तथा संरचनाबारे सम्बन्धित निकायमा सिफारिस गरिने जनाइएको छ।

यसैबीच, भोटेकोशी बाढीबाट प्रभावित गल्छी–६ महेशदोभान क्षेत्रका लाभग्राहीहरूलाई लाभग्राही सूचीमा दर्ता हुन पूरा गर्नुपर्ने प्रक्रिया तथा कानुनी व्यवस्थाबारे जानकारी गराइएको छ।

गल्छी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलालले प्रभावितलाई लाभग्राही सूचीमा समावेश हुन आवश्यक कागजात, प्रक्रिया तथा कानुनी प्रावधानका विषयमा जानकारी गराउनुभएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष केदार खतिवडा र वडा नम्बर ६ का अध्यक्ष दीपक कार्कीको समेत सहभागिता रहेको थियो।

बाढीबाट प्रभावित परिवारले राहत तथा पुनर्स्थापना प्रक्रियामा आवश्यक कागजात र विवरण पूरा गरी तोकिएको प्रक्रियाअनुसार लाभग्राही सूचीमा समावेश हुनुपर्ने गाउँपालिकाले जनाएको छ।

सीताराम अधिकारी