नुवाकोट । २०८३ असोज ६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको तथ्याङ्क सङ्कलनलाई प्रभावकारी बनाउन ०८३ असोज ६ गते नुवाकोटका कर्मचारीलाई अभिमुखीकरण तालिम दिएको छ।

इन्सेकका निर्देशक मदन पौडेल, बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेल र कार्यक्रम अधिकृत टेकनाथ आचार्यको उपस्थितिमा भएको कार्यक्रममा नुवाकोटका फोकल पर्सन केदारकुमार ढकाल र कार्यालय व्यवस्थापक भगवती लामालाई इन्सेकको कार्यक्षेत्र, जिम्मेवारी तथा विपद्सम्बन्धी तथ्याङ्क सङ्कलनको विधिबारे जानकारी दिइएको थियो।

अभिमुखीकरणमा २०८३ भदौ १० गते भोटेकोशीमा आएको बाढी तथा त्यसबाट प्रभावित नागरिकको अवस्था, मानवीय तथा भौतिक क्षतिको विवरण, राहत तथा उद्धारका क्रममा सरोकारवाला निकायबाट भएका गतिविधि र प्रभावित नागरिकले भोग्नुपरेका समस्यालगायत विषयमा तथ्यमा आधारित सूचना सङ्कलन गर्ने विधिबारे जानकारी दिइएको निर्देशक पौडेलले बताउनुभयो।

कार्यक्रममा नुवाकोटका १२ वटै स्थानीय तहबाट सङ्कलन गरिएको बाढी तथा पहिरोबाट भएको मानवीय क्षतिको विवरणसमेत प्रस्तुत गरिएको थियो। उपलब्ध तथ्याङ्कअनुसार जिल्लामा ७ सय ८० जना सम्पर्कविहीन रहेको र सात जनाको मृत्यु भएको विवरण प्रस्तुत गरिएको थियो।

इन्सेक नुवाकोटका फोकल पर्सन ढकालले जिल्लाका सबै स्थानीय तहबाट प्रभावित नागरिक तथा क्षतिको विवरण संकलन गरिएको जानकारी दिनुभयो। उहाँले विपद्पछि प्रभावित नागरिकको अवस्था, उद्धार तथा राहत वितरणको अवस्था र सम्बन्धित निकायले गरेका कामलाई तथ्यका आधारमा अभिलेखीकरण गरिएको बताउनुभयो।

अभिमुखीकरणमा विपद्बाट प्रभावित नागरिकको वास्तविक अवस्था पहिचान गरी मानवीय तथा भौतिक क्षतिको यथार्थ विवरण सङ्कलन गर्नुपर्नेमा जोड दिइएको थियो। साथै, उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका क्रममा राज्यका सम्बन्धित निकायबाट भएका कामको नियमित अनुगमन तथा अभिलेखीकरण गर्नुपर्ने विषयमा समेत छलफल गरिएको थियो।

केदार ढकाल