बर्दिया । २०८३ असोज २१ गते

भोटेकोशीमा आएको बाढीपछि भदौ १० गतेदेखि सम्पर्कविहीन रहेका बारबर्दिया नगरपालिकाका आठ जना व्यक्तिको परिवारले कुशको शव बनाएर धार्मिक संस्कार अनुसार दाहसंस्कार गरेका छन् ।

दाहसंस्कार गर्नेमा बारबर्दिया नगरपालिका-१ की ३० वर्षीय दिपेन्द्र थारूको असोज ७ गते र ३८ वर्षीया फूलमाया तामाङको असोज १४ गते दाहसंस्कार गरेको वडा नं. १ का वडा अध्यक्ष कैलाशपति थारुले जानकारी दिनुभयो ।

त्यसैगरी बारबर्दिया नगरपालिका-७ का  २४ वर्षीय करण चौधरीको असोज १० गते, ३८ वर्षीय टुलबहादुर खत्री, उहाँको भाइ ३३ वर्षीय खुमलाल खत्रीको असोज १४ गते र ४५ वर्षीय विष्ण चौधरीको असोज १४ गते दाहसंस्कार गरेको वडा नं. ७ का वडा अध्यक्ष इन्दप्रसाद थारु चौधरीले जानकारी दिनुभयो ।

बारबर्दिया नगरपालिका-७ का ३४ वर्षीय सौगात चौधरीको असोज २१ गते र विनोद शाहको असोज ६ गते दाहसंस्कार भएको वडा नं. ८ का वडा अध्यक्ष नरबहादुर चन्द्रले जानकारी दिनुभयो ।

बाढी परेर बारबर्दिया नगरपालिकाका २५ जना सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन व्यक्तिको खोजीका लागि परिवारले सम्बन्धित निकायमा जानकारी गराए पनि उहाँहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन नसकेपछि परिवारले दाहसंस्कार गरेको जनाएको छ ।  भोटेकोशी बाढीपछि बर्दियाबाट कामकालागि नुवाकोट तथा आसपासका क्षेत्रमा पुगेका ७६ व्यक्ति सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन खोजी तथा पहिचानका लागि स्थानीय प्रशासनले आफन्तबाट डीएनए नमुना संकलन समेत गरेको छ ।

प्रकाश पौडेल