धादिङ । २०८३ भदौ २८ गते
भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी १८ दिनदेखि बेपत्ता नीलकण्ठ नगरपालिका–९ सानडाँडाका एकै परिवारका चारजनाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।
गोंगबु बसपार्कबाट गोसाइँकुण्डतर्फ जाँदै गरेको बा. ०३–००६६ ख ८५६५ नम्बरको बस ०८३ भदौ १० गते बिहान भोटेकोशीको बाढीमा पर्दा नीलकण्ठ–९ का ७१ वर्षीय गुणनिधि सुवेदी, ६६ वर्षीया मुरलीदेवी सुवेदी, ३९ वर्षीय रामहरि सुवेदी र ३५ वर्षीया बिन्दुरा सुवेदी सम्पर्कविहिन हुनुभएको थियो । बसमा सुवेदी परिवारका चारजनासहित ३१ जना यात्री सवार थिए ।
बेपत्ता भएको दिनदेखि खोजी जारी राखिए पनि १८ दिनसम्म कुनै संकेत नपाइएपछि परिवारले उहाँहरु जीवितै फर्किने आशा त्याग्दै हिन्दू संस्कारअनुसार कुशको शव बनाएर भदौ २७ गते थोपल आशी दोभानमा अन्त्येष्टि गरेको हो ।
चारजनामध्ये गुणनिधि र मुरलीदेवी हजुरबा–हजुरआमा तथा रामहरि र बिन्दुरा ११ वर्षीय रियान सुवेदीका बुबा–आमा हुनुहुन्थ्यो । परिवारका चारै सदस्य गुमाएका रियानले नै कुशको शवलाई दागबत्ती दिएका थिए ।


सीताराम अधिकारी
HUMAN RIGHTS NEWS PORTAL