काठमाडौँ । २०८३ असोज ९ गते

रसुवाको टिमुरे क्षेत्रमा भदौ १० गते आएको बाढीमा ३ सय ३८ वटा ट्रक तथा कन्टेनर हराएका छन् भने ४ सय ४१ जना चालक, सहचालक तथा व्यवसायी सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघले आफ्ना सदस्य संस्थाबाट संकलन गरेको उक्त विवरण यातायात व्यवस्था विभागलाई उपलब्ध गराएको हो। विभागले बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने क्रममा असोज २ गते सरकारी तथा गैरसरकारी निकाय, निजी संघसंस्था, सञ्चारमाध्यम तथा सरोकारवालासँग विवरण मागेको थियो।

महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँका अनुसार सदस्य संस्थाबाट प्राप्त विवरणका आधारमा ३ सय ३८ वटा ट्रक तथा कन्टेनर हराएको र ४ सय ४१ जना चालक, सहचालक तथा व्यवसायी सम्पर्कविहीन रहेको प्रारम्भिक तथ्यांक प्राप्त भएको हो।

महासंघले विभागलाई उपलब्ध गराएको विवरणअनुसार नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालि, लोकन्थलीका २ सय १७ वटा ट्रक तथा कन्टेनर हराएका छन्। उक्त कम्पनीसँग सम्बन्धित २ सय ५१ जना चालक, सहचालक तथा व्यवसायीसमेत सम्पर्कविहीन छन्।

नारायणी यातायात व्यवसायी संघ, हेटौँडाका ५८ वटा ट्रक तथा कन्टेनर र ७८ जना, तराई यातायात व्यवसायी संघ, सिमराका २१ वटा सवारीसाधन र ३५ जना तथा ट्रक यातायात व्यवसायी संघ नेपाल, बल्खुका १० वटा कन्टेनर र २० जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

त्यस्तै, गण्डकी ट्रक व्यवसायी संघ, पोखराका २१ वटा ट्रक तथा कन्टेनर र ३४ जना तथा पश्चिमाञ्चल यातायात व्यवसायी समिति, बुटवलका ११ वटा कन्टेनर र २२ जना सम्पर्कविहीन रहेको महासंघले जनाएको छ।

नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुनबहादुर सापकोटाले क्षतिको विवरण संकलनको काम अझै जारी रहेकाले हराएका सवारीसाधन र सम्पर्कविहीन व्यक्तिको संख्या थपिन सक्ने बताउनुभयो।

महासंघका अध्यक्ष बानियाँले पनि हाल प्राप्त विवरणलाई प्रारम्भिक तथ्यांकका रूपमा लिनुपर्ने बताउनुभयो। सदस्य संस्था तथा सम्बन्धित व्यवसायीबाट थप विवरण प्राप्त भएमा तथ्यांक अद्यावधिक गरिने उहाँको भनाइ छ।

भदौ १० गते बिहान रसुवाको टिमुरे तथा आसपासका क्षेत्रमा आएको बाढीले सडक, यातायातका साधन र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएको थियो। बाढीपछि ठूलो संख्यामा मालवाहक सवारीसाधन तथा त्यसमा संलग्न चालक, सहचालक र व्यवसायी सम्पर्कविहीन भएका थिए।

अनलाइनडेस्क