सिन्धुपाल्चोक । २०८३ असोज २ गते

रसुवाको भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको भिषण बाढीमा सिन्धुपाल्चोक जिल्लाका २ सय २५ जना व्यक्ति अझै सम्पर्कविहीन छन् भने चार जनाको सनाखत भएको जिल्ला विपद् व्यवस्थापन समिति, सिन्धुपाल्चोकले जनाएको छ । बाढीमा परि सम्पर्कविहीन भएका मध्ये जुगल गाँउपालिका–५ का बिरबहादुर श्रेष्ठ, भोटेकोशी गाँउपालिका–३ का पेमा डुण्डुप शेर्पा, बाह्रविसे नगरपालिका–७ का लिलाबहादुर देउजा र सोही ठाँउका रामबहादुर प्रधानको सनाखत भएको प्रमुख जिल्ला अधिकारी सशिधर घिमिरेले बताउनुभयो ।

भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा परेर जिल्लामा रहेको १२ ओटा पालिका भित्रका ६ जना महिला सहित २ सय २५ जनाको अवस्था हाल सम्म अज्ञात रहेको छ। बाढीमा परेर सम्पर्कविहीन भएकाहरुमा भोटेकोशी गाँउपालिकाका ७२ जना, बाह्रविसे न.पाको ५८ जना, बलेफी गाँउपालिकाको ३२ जना, जुगल गाँउपालिकाका १५ जना, सुनकोशी गाँउपालिकाका १५ जना, चौतारा साँगाचोकगढी न.पाका १२ जना, मेलम्ची नगरपालिकाको सात जना, त्रिपुरासुन्दरी गाँउपालिकाको ६ जना, लिसंखुपाखर गाँउपालिकाको तीन जना, हेलम्वु गाँउपालिकाको तीन जना, इन्द्रावती गाँउपालिकाका एक जना र पाँचपोखरी थाङ्पाल गाँउपालिकाका एक जना रहेका छन् । सम्पर्कविहिनहुनेहरु मध्ये रसुवाको भन्सार कार्यालय आसपासबाट १४ जना, बेत्रावती बजारबाट तीन जना, टिमुरे बजारबाट १ सय ८८ जना, रसुवाको बोर्डर खट्टेखोलाबाट आठ जना, केरुङ नाकाबाट तीन जना, त्रिशुली जलविद्युत आयोजनाबाट सात जना, रसुवाको लेहेन्देखोलाबाट एक जना, अपर त्रिशुली जलविद्युत आयोजनाबाट एक जना बेपत्ता भएको जिल्ला बिपद् व्यवस्थापन समितिले जनाएको छ । बाढीले बगाएर सनाखत भएका जुगल गाँउपालिका—५ का बिरबहादुर श्रेष्ठ बाढी आउनु भन्दा केही समय अघि रसुवाको भन्सार कार्यालय आसपासमा रहेको पारिवारले जनाएको छ । त्यसैगरी सनाखत भएका बाह्रविसे नगरपालिका—७ का रामबहादुर प्रधान र सोहिठाँउका लिलाबहादुर देउजा बाढी आँउदा रसुवाको टिमुर बजारमा हुनुहुनथ्यो भने भोटेकोशी गाँउपालिका–३ का पेमाडोण्डोप शेर्पा रसुवाको बोर्डरमा रहेको सम्बन्धित परिवारले जनाएका छन् ।

नातिबावु धिताल