रसुवा । २०८३ असोज २२ गते

भोटेकोशीमा आएको बाढीका कारण पूर्ण रुपमा क्षति भएको नुवाकोट र रसुवाको सीमास्थित बेत्रावतीको फलाखु खोलामा नेपाली सेनाको प्राविधिक टोलीले बेलिब्रिज जडानको काम तीव्र गतिमा अघि बढाइरहेको छ ।

सेनाको प्राविधिक टोलीले कठिन भूगोलमा करिब ३ सय मिटर सडकखण्डमा चट्टान फुटाएर पहुँचमार्ग तयार गरेपछि ६० टनसम्म भार थेग्न सक्ने २ सय ४० फिट लामो बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री निर्माणस्थलमा पुर्‍याइसकिएको छ ।

असोज २० गतेदेखि सुरु भएको पुल जडान कार्य दशैंअघि नै सञ्चालनमा ल्याउने लक्ष्य सहित तिव्र गतिमा संचालन भइरहेको नेपाली सेनाले जनाएको छ।

बेलिब्रिज जडान सम्पन्न भएपछि बाढीबाट प्रभावित नुवाकोट र रसुवाको सडक सम्पर्क तथा आवागमन सहज हुने र अत्यावश्यक सामग्री ढुवानीमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

 हेमनाथ खतिवडा