धादिङ । २०८३ भदौ २४ गते

भोटेकोशी बाढीबाट विस्थापित परिवारको चाप गजुरी गा.पा–६ पोखरेखोला रातमाटेमा बढ्दै गएको छ । राजमार्गबाट पोखरेखोलामाथि रहेको रातमाटे जंगलमा गाँउपालिकाले अस्थायी होल्डिङ सेन्टर बनाएको छ । पाँच दिनअघि यहाँ १४ परिवारलाई होल्डिङ सेन्टर राखिएको थियो । अहिले रातमाटे स्थित होल्डिङ सेन्टरमा ३७ परिवारले अस्थायी आश्रय लिइरहेका छन् । छिमेकीको घरमा समेत बस्ने ठाउँ नभएका परिवारलाई यस होल्डिङ सेन्टरमा ल्याएर राखिएको छ । यस होल्डिङ सेन्टरमा गजुरी गाउँपालिका–५ र ६ का त्रिशूली नदी किनारका परिवार रहेका  छन् । बाँगे, घाटबेसी, पोखरेखोला, जरेलगायतका क्षेत्रका प्रभावितलाई रातमाटेमा राखिएको छ । गजुरी गा.पा–५ का अध्यक्ष गोविन्द लामिछानेका अनुसार विस्थापित परिवारको संख्या प्रत्येक दिन थपिँदै गएको छ । केही परिवारबाहेक अधिकांश टेन्टमा बसेका छन् । उनीहरूलाई तत्कालका लागि बस्ने ठाउँ र खानेकुराको व्यवस्था गरिएको छ । तर, खानेपानीको अभाव छ । धेरै परिवारले नुहाउन पाएका छैनन् । लुगा धुनसमेत समस्या छ । बालबालिकाका लागि खेल्ने  र पढ्ने ठाउँ छैन ठाउँ पनि छैन। बाढीले घर गुमाएका परिवार अहिले टेन्टको ओतमा दिन बिताइरहेका छन्। होल्डिङ सेन्टरमा ६० जना बालबालिका छन् । ४९ जना महिला छन् । एक जना अपांगता भएका व्यक्ति पनि छन्। विस्थापित परिवार थपिँदै गएपछि रातमाटेमा व्यवस्थापनको चुनौती बढेको छ। खानेपानी, सरसफाइ, बालबालिकाको पढाइ र सुरक्षित बसोबासको व्यवस्था तत्काल गर्नुपर्ने अवस्था छ ।

सीताराम अधिकारी