नुवाकोट । २०८३ असोज ८ गते

‘सानोतिनो पानी पर्दा पनि टेन्टभित्र पानी चुहिन्छ, अब त झन लगातार पाँच दिन पानी पर्दछरे ।’ रसुवा उत्तरगया गाउँपालिका–१ खाल्टेका अजय तामाङले चिन्ता व्यक्त गर्नुभयो ।

भोटेकोशी र त्रिशुली नदीमा भदौ १० गते आएको बाढीका कारण विस्थापित भएर नुवाकोटको विदुर नगरपालिका–५ बाणाचौतारामा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका तामाङलाई आगामी दिनमा हुने वर्षाको खबरले झन् चिन्तित बनाएको छ । ‘टेन्टमा बस्नै गाह्रो छ। पाँच दिनसम्म लगातार पानी पर्ने सुनेपछि आफूभन्दा पनि सानो छोरालाई कसरी जोगाउने भन्ने चिन्ता लागेको छ,’ तामाङले बताउनु भयो ।

तामाङ मात्र होइन, बाणाचौताराको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका अधिकांश बाढीपीडित अहिले त्रासमा छन्। अव्यवस्थित टेन्ट, पर्याप्त शौचालय तथा खानेपानीको अभावले उनीहरूको समस्या झन् बढाएको छ। बाढीबाट विस्थापित भएपछि रसुवाका विभिन्न स्थानबाट आएका प्रभावितहरु विदुर नगरपालिका–५ बाणाचौतारामा आश्रय लिएर बसिरहनु भएको को छ । लगातार वर्षा हुने पूर्वानुमानसँगै उहाँहरूलाई टेन्टभित्र बस्न सक्ने अवस्था नरहने हो कि भन्ने चिन्ता छ । टेन्टमा पानी चुहिने समस्या रहेको र वर्षाका कारण खानेपानीको समस्या थप बढ्न सक्ने प्रभावितहरूको भनाइ छ।

बाढीले घरवार गुमाएका उनीहरू अहिले वर्षाबाट जोगिनसमेत संघर्ष गर्नुपर्ने अवस्थामा पुग्नु भएको छ । आफ्ना पत्नी र बुहारीसहित धेरै आफन्त गुमाएका तामाङ अहिले आफूसँगै रहेका बालबालिकालाई कसरी सुरक्षित राख्ने भन्ने चिन्तामा हुनुहुन्छ । बाढीको पीडाबाट बाहिर निस्कन नपाउँदै वर्षाको सम्भावित जोखिमले आफूहरू थप मानसिक दबाबमा पारेको प्रभावितहरुको भनाई छ ।

होल्डिङ सेन्टरमा रहेका प्रभावितहरुका लागि तत्काल सुरक्षित र व्यवस्थित आवास, खानेपानी, शौचालय तथा वर्षाबाट जोगिने व्यवस्था गर्नुपर्ने माग उठेको छ । वर्षा जारी रहेमा टेन्टमा बसिरहेका बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य बाढीपीडितको अवस्था थप जोखिमपूर्ण बन्न सक्ने देखिएको छ ।

केदार ढकाल