नुवाकोट । २०८३ भदौ २३ गते
भोटेकोशी हुँदै त्रिशूली नदीमा ०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित भई अभिभावक गुमाएका बालबालिकाको संरक्षण तथा हेरचाहका लागि विदुर नगरपालिकाले विशेष व्यवस्था गरेको छ ।
नगरपालिकाले विदुर नगरपालिका–२ स्थित अन्नपूर्ण पञ्चकन्या आधारभूत विद्यालयमा आश्रयस्थल निर्माण गरी बाढीबाट अभिभावक गुमाएका बालबालिकाको बसोबास तथा आवश्यक बन्दोबस्ती मिलाएको हो ।
हाल उक्त आश्रयस्थलमा चार जना बालिका र तीन जना बालक गरी सात जना बालबालिका रहेका छन्। अभिभावकविहीन अवस्थामा रहेका थप बालबालिकालाई समेत सोही स्थानमा राख्ने व्यवस्था मिलाइएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताउनुभयो ।
नगरप्रमुख श्रेष्ठका अनुसार बालबालिकाको आवास, खानपान, शिक्षा, स्वास्थ्य तथा सुरक्षा लगायतका सम्पूर्ण पक्षमा नगरपालिका गम्भीर र संवेदनशील भएर काम गरिरहेको छ । बालबालिकाहरूको भविष्य सुरक्षित बनाउन आवश्यक सबै प्रकारका सहयोग तथा संरक्षण उपलब्ध गराइने उहाँको भनाइ छ ।
बाढीका कारण अभिभावक गुमाएका बालबालिकालाई तत्कालीन राहतसँगै दीर्घकालीन संरक्षण र शिक्षाको वातावरण उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले यो व्यवस्था गरेको हो ।
केदार ढकाल
HUMAN RIGHTS NEWS PORTAL