रसुवा । २०८३ कात्तिक २३ गते
गाउँ जाने सडकमा पुल अभाव भएपछि गोसाइकुण्ड र आमाछोदिङमो गाउँपालिका जोड्न स्याफ्रुवेंसीमा फड्के पुल पुनर्निर्माण कार्यमा स्थानीय जुटेका छन् ।
लेन्दे खोलाहुँदै भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको बाढीले गोसाइँकुण्ड गाउँपालिका–५ स्थित, स्याफ्रुबेँसीको पुल र सडक बगाएपछि रसुवाको उत्तरी भेगमा यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको छ ।

पुल अभावले आवतजावत ठप्प हुँदा गोसाइँकुण्ड गाउँपालिका–१ देखि ५ र आमाछोदिङ्मो गाउँपालिका–१ देखि ५ का स्थानीय नागरिकले ठूलो सास्ती खेप्दै आएका छन् ।
लामो समय बितिसक्दा पनि स्याफ्रुबेँसीमा तत्काल स्थायी पुल बन्ने निश्चित नभएपछि आमाछोदिङ्मो गाउँपालिकाका स्थानीयवासीले श्रमदानमार्फत अस्थायी काठेपुल पुन निर्माणमा जुटेका छन् ।

असोजमा तयार भएको काठे पुल पुन बगाएपछि जनसहभागितामा काठको पुल निर्माण कार्यलाई निरन्तर अघि बढाइएको छ । सडक सञ्जाल अवरुद्ध हुँदा स्थानीय किसानहरूले उत्पादन गरेको नगदे बाली बजारसम्म पुर्याउन पाएका छैनन् ।
गत वर्ष आमाछोदिङ्मो गाउँपालिकाका– २, ३, ४ र ५ बाट करिब ३ करोड रुपैयाँ बराबरको तरकारी निकासी भएको थियो । त्यस्तै, यस वर्ष उत्पादन बढेर करिब ६ करोड रुपैयाँ बराबरको तरकारी बजार पठाउने तयारी थियो । तर, बाढी आएको २ महिना बढी बितिसक्दा पनि यातायात सञ्चालन नहुनु र कुनै वैकल्पिक मार्गसमेत नहुँदा बन्दा, आलु र सिमीजस्ता नगदे बाली बारीमै कुहेर जाने अवस्था सिर्जना भएको छ ।
गत वर्षको तुलनामा दोब्बर आम्दानी हुने अपेक्षा गरेका किसानहरू वर्षभरिको मेहनत खेर जाने जोखिमले चिन्तित बनेका छन् ।
हेमनाथ खतिवडा
HUMAN RIGHTS NEWS PORTAL