रसुवा । २०८३ असोज १९ गते

भोटेकोशी बाढीका कारण ३७ अभिभावक र नौ विद्यार्थीको मृत्यु भएपछि रसुवाको सदरमुकाम धुन्चेस्थित हाईल्याण्ड आवासीय माध्यमिक विद्यालयले मानवीय समवेदना र सामाजिक उत्तरदायित्वको उच्च उदाहरण प्रस्तुत गर्दै बाढीबाट प्रभावित विद्यार्थीहरूको भदौ महिनाको सम्पूर्ण शुःल्क मिनाहा गर्ने घोषणा गरेको छ ।

भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको विनाशकारी बाढीका कारण विद्यालयले जेहेन्दार विद्यार्थी र अभिभावकहरूलाई गुमाएका कारण संकटको यस  घडीमा अभिभावक तथा विद्यार्थीहरूको आर्थिक भारलाई केही हदसम्म कम गर्ने उद्देश्यले विद्यालयका संस्थापकद्वय तीरबहादुर गुरुङ र बन्दना गुरुङले विद्यालयमा अध्ययनरत कुल ४ सय ८१ जना विद्यार्थीहरूको भदौ महिनाको मासिक तथा यातायात शुल्कवापतको १३ लाख रुपियाँ पूर्ण रूपमा छुट गर्ने निर्णय लिएका छन् । विद्यालयले विपद्को यस जटिल घडीमा विद्यार्थी, अभिभावक र समाजको साथमा दरिलो रूपमा उभिने प्रतिबद्धता समेत दोहोर्‍याएको छ। विद्यालय परिवारले बाढीमा परी मृत्यु भएका सम्पूर्ण दिवङ्गत आत्माहरूको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।

हेमनाथ खतिवडा