नुवाकोट । २०८३ असोज ७ गते

भोटेकोशी हुँदै त्रिशूली नदीमा ०८३ भदौ १० गते आएको बाढीका कारण विस्थापित भइ नुवाकोटको विदुर नगरपालिका–५ बाणाचौतारा स्थित होल्डिङ सेन्टरमा बस्दै आएका रसुवाको उत्तरगया गाउँपालिका–१ खाल्टेका १ सय ३२ परिवारलाई खानेपानीको अभाव भएको छ ।

बाढीले घरखेत बगाएपछि विस्थापित भइ बाणाचौतारामा आश्रय लिइरहेका प्रभावितहरुलाई दैनिक आवश्यकताका लागि पर्याप्त खानेपानी उपलब्ध हुन सकेको छैन । पानी ल्याउनका लागि समेत होल्डिङ सेन्टरबाट एक घण्टा हिँडेर जानुपर्ने अवस्था रहेको प्रभावितहरूको गुनासो छ ।

होल्डिङ सेन्टरमा बस्दै आएकी श्रीमाया तामाङका अनुसार बाढीले घरखेत बगाएपछि आफन्तसहित विस्थापित भएर होल्डिङ सेन्टरमा आश्रय लिइरहेकोमा खानेपानीको समस्याले थप सास्ति भोग्नु परेको छ । उहाँका अनुसार प्रभावित परिवारलाई पानी लिन टाढासम्म हिँडेर जानुपर्ने बाध्यता छ।

७२ वर्षीय वीर बहादुर तामाङ पनि शौचालय गएपछि हात धुने पानीसमेत पर्याप्त नहुने बताउँनुहुन्छ। “घरखेत बाढीले लग्यो, विस्थापित भएर यहाँ आएका छौँ। अहिले पानी लिनसमेत टाढा जानुपर्ने अवस्था छ,” उहाँले भन्नु भयो । होल्डिङ सेन्टरमा रहेका १ सय ३२ परिवारलाई नै पानीको आवश्यक रहेपनि धेरै मर्कामा भने २६ परिवारलाई परेको छ । उहाँहरुका लागि ५ सय  लिटर क्षमताका ट्यांकी राखिएको भए पनि पर्याप्त पानी नहुँदा समस्या समाधान हुन नसकेको प्रभावितहरूको गुनासो छ। ट्यांकी राखिए पनि पानी भर्न र नियमित आपूर्ति गर्न नसक्दा आफूहरूलाई दैनिक उपभोगका लागि आवश्यक पानी जुटाउनै कठिन भएको उहाँहरूको भनाइ छ। बाढीबाट घर, खेत तथा सम्पत्ति गुमाएर विस्थापित भएका परिवार अस्थायी आश्रयमा बसिरहेका बेला खानेपानीजस्तो आधारभूत आवश्यकतामै समस्या भएपछि उहाँहरूको दैनिकी थप कष्टकर बनेको छ। प्रभावितहरूले तत्काल पर्याप्त खानेपानीको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

केदार ढकाल