रसुवा । २०८३ कात्तिक २९ गते
वि.सं. २०७२ सालको भूकम्पका कारण रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित खाल्टेका विस्थापितहरु भेटेकोशी बाढीका कारण पुनः विस्थापित भएका छन् । चिसो बढेसँगै विस्थापित नागरिकहरु समस्यामा परेका छन् ।
आफूसमेत ७७ परिवार बिस्थापित भएर बिदुर नगरपालिका–५, पिपलटारको कोदोबारी होल्डिङ सेन्टरमा टेन्ट र टिनका छाप्रामा बसेका उत्तरगया गाउँपालिका–१ का वडा सदस्य बुटी तामाङले बताउनुभयो । उक्त होल्डिङ सेन्टरमा १ सय ४ जना पुरुष, ९९ जना महिला र ७० जना बालबालिका गरी २ सय ७३ जना रहेका छन् ।

भूकम्पपछि खाल्टेमा बस्दै आएका मध्ये ६१ जना बेपत्ता भएको र उनीहरुको सामूहिक अन्त्येष्टि गरिएको तामाङले बताउनुभयो । चिसो बढेकोले बालबालिका तथा जेष्ठ नागरिक समस्यामा परेकाले सरकारले यथाशिघ्र आवास पुनर्निर्माण गरिदिन उहाँले नेपाल सरकारलाई अनुरोध गर्नुभयो ।
सरकारले कोठाभाडा सहायता दिने घोषणा गरेपछि अस्थायी आश्रयस्थलमा हिउँद काट्न नसकिने त्रासले रसुवाका कतिपय विस्थापित परिवार काठमाडौँ डेरामा बसेका छन् भने केही अझै अस्थायी आश्रयस्थलमा छन् ।

बेत्रावती बजारका ३४ भन्दा बढी घरपरिवार उत्तरी–पूर्वी भागमा रहेको स्वारडाँडामा स्वर्स्फूत रूपमा बसाइँ सरेका छन् । बाढी प्रभावितहरूले सरकारी आश्रित केन्द्रको पर्खाइ नगरी आफैं टेन्ट र टहरा गाडेर अस्थायी आश्रयस्थल खडा गरेका छन् ।
रसुवाको पैरेबेँसीबाट विस्थापित चिरिमाया तामाङसहित उत्तरगया गाउँपालिकास्थित भीमसेनस्थान विद्यालयको अस्थायी आश्रयस्थलमा बस्दै आएका १० परिवार काठमाडौँमा कोठा भाडामा लिएर बसिरहेका छन् । गाउँ र सम्पत्ति सबै बगे पनि सरकारको भरोसामा आश्रयस्थलमा बसेका तामाङसहितका पीडितले हालसम्म घोषित राहत पाउन सकेका छैनन् ।
बाढीबाट घर, खेत र सम्पत्ति गुमाएर अस्थायी आश्रयमा बसिरहेका परिवारलाई खानेपानी जस्तो आधारभूत आवश्यकतामै समस्या भएपछि दैनिकी थप कष्टकर बनेको छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा महिलालाई पानी ओसार्न टाढासम्म जानुपर्ने बाध्यता रहेको बाढी प्रभावित बिस्थापतहरू बताउँछन् ।
हेमनाथ खतिवडा
HUMAN RIGHTS NEWS PORTAL