रसुवा । २०८३ असोज २६ गते
रसुवा र नुवाकोट जिल्लालाई जोड्ने फलाखुखोलामा निर्माण गरिएको अस्थायी बेलिब्रिज असोज २५ गते बिहान ११ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीले पक्की पुल बगाएपछि अवरुद्ध भएको यस क्षेत्रको यातायात सेवा ४७ दिनपछि पुनः सञ्चालनमा आएको हो ।
बेलिब्रिज सञ्चालनमा आएसँगै रसुवाको जनजीवन सामान्य बन्दै गएको छ । खाद्यान्न तथा अत्यावश्यक सामग्रीको आपूर्ति सहज हुनुका साथै बाढी प्रभावित क्षेत्रमा राहत वितरण, पुनःनिर्माण र पुनःस्थापनाका कामलाई समेत गति दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सडक सञ्जाल पुनःस्थापित भएपछि रसुवा–काठमाडौं आवतजावत गर्न र कृषि उपजसहित व्यापारिक सामग्री ओसारपसार गर्न सहज भएको स्थानीयले बताएका छन् । यातायात अवरुद्ध हुँदा बजारसम्म पुर्याउन नसकिएका कृषि उपजले समेत अब बजार पाउने भएका छन् ।
बजार अभावका कारण आमाछोदिङमो गाउँपालिकामा करोडौँ रुपियाँ मूल्य बराबरको बन्दा, आलु तथा अन्य तरकारी कुहिन थालेका थिए । फलाखुखोलामा पुल सञ्चालनमा आएसँगै स्याफ्रु हुँदै गतलाङका कृषि उपजले बजार पाउने स्थानीय फुर्पुसिङ्गी तामाङले बताउनुभयो ।
बेलिब्रिज सञ्चालनमा आएसँगै लामो समयदेखि यातायात अवरुद्ध हुँदा स्थानीयले भोग्दै आएको सास्ती कम हुने र जिल्लाको आर्थिक गतिविधि तथा दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा सहजता आउने अपेक्षा गरिएको छ ।
हेमनाथ खतिवडा
HUMAN RIGHTS NEWS PORTAL