अन्नपूर्णमा बालमैत्री शासन प्रबद्र्धन अभिमुखिकरण
अनलाइन अन्नपूर्ण डटकम । २०७९ असार १९ गते
कास्कीको अन्नपूर्ण गाउँपालिकामा बालमैत्री स्थानीय शासन प्रवद्र्धन सम्बन्धि अभिमुखिकरण आइतबार सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी र सामाजिक विकास कार्यालय कास्कीको संयुक्त आयोजनामा भएको कार्यक्रममा सरोकारवालाहरुले स्थानीय तह बालमैत्री हुनुपर्ने र त्यसका लागि आ–आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । गाउँपालिका अध्यक्ष बिष्णुबहादुर केसीले बालबालिकाहरु राज्यबाट प्राप्त अधिकारका बारेमा जानकार हुनुपर्ने बताए । उनले नीति तथा कार्यक्रम र बजेट विनियोजन गर्दा राज्यले उनिहरुप्रति ध्यान दिनुपर्ने बताए ।इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले केहि स्थानीय तहहरुले बालमैत्री प्रबद्धन अभियानको थालनी गरिसकेको बताए । उनले समग्र मुलुक नै बालमैत्री हुनुपर्नेमा जोड दिए । उनले बालमैत्री पुस्तक तयार भइसकेको बताउँदै त्यसलाई गाउँपालिकाहरुमा पठाउने बताए । कार्यक्रममा अधिवक्ता कुञ्जनी परियारले ‘बालमैत्री स्थानीय शासन र सरोकारवालाहरुको भूमिका विषयक’ कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, उपाध्यक्ष चन्द्रकला अधिकारी, वडा नं. ७ का वडा अध्यक्ष भरतमान गुरुङ, जिल्ला बाल सञ्जाल कास्कीका अध्यक्ष समिक्षा लामिछाने लगायतले बोलेका थिए ।