अन्नपूर्णमा बालमैत्री स्थानीय शासन सम्बन्धी अन्तरक्रिया

अनलाइन अन्नपूर्ण डटकम । २०८० जेठ ३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा अन्नपूर्ण गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बिष्णुबहादुर केसीले बालमैत्री स्थानीय शासनप्रति आफूहरू सजग रहेको बताए । उपाध्यक्ष चन्द्रकला अधिकारीले बालमैत्री स्थानीय शासनका बारेमा विभिन्न तालिमहरू आयोजना भएपनि स्थानीय सरकार आएपछि बल्ल जानकारी पाएको सुनाइन् । उनले पालिकाले बालमैत्री स्थानीय शासनमा हस्ताक्षर गरी सकेकाले अब कामको थालनी गर्ने बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत खेमराज दवकोटाले बालबालिकाले पाउनुपर्ने अधिकारका लागि गाउँपालिकाले पहल गर्नुपर्नेमा जोड दिए । घर, विद्यालय र सार्वजनिक विद्यालयमा पनि बालमैत्री वातावरण हुनुपर्ने उनले बताए । शिक्षा शाखा प्रमुख बलराम भुगाईँले गाउँपालिकालाई बालश्रम मुक्त पालिका घोषणा गर्ने तयारी रहेको बताए । इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले बालमैत्री स्थानीय शासनका लागि सरकारी तवरबाट पहल हुनुपर्ने र संस्थाले हातेमालो गर्दै आइरहेको बताए । राष्ट्रिय बाल अधिका परिषद् गण्डकीका संयोजक बद्री वाग्लेले बालमैत्री अभियानमा सबै लाग्नुपर्ने बताए ।

Source: https://onlineannapurna.com/2023/2564/