अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको हनन् कायमै : इन्सेक

 
दिगो समाचारदाता ललितपुर २०७७ वैशाख २१ गते

अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको हनन् कायमै रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनाएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा २०७७ वैशाख २१ गते इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले विज्ञप्ती जारी गरी विश्वभर ‘भय र पक्षधरता मुक्त पत्रकारिता’ भन्ने नाराका साथ विश्व प्रेस स्वतन्त्रता दिवस २०२० भव्यताका साथ मनाउनु पर्ने बताउनु भयो ।
कोरोना भाइरस (कोभिड १९)का सङ्क्रमणका कारण विश्व नै अहिले विषम परिस्थितिमा रहेको उल्लेख गर्दै यस्तो विषम परिस्थितिसँग जुध्न सूचना पनि महत्वपूर्ण पक्ष भएको इन्सेकले जनाएको छ । यहि विषम परिस्थितिमा कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापि महामारिका कारण विगतका वर्षहरू जस्तै यो वर्ष औपचारिक रुपमा कार्यक्रम गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने अवस्था नरहेको संयोजक गौतमले बताउनु भयो ।

 

यस विषम परिस्थितिमा विश्व प्रेस स्वतन्त्रता दिवसको दिन पनि पत्रकारहरूले आफै पीडित भएको आवाज उठाउनु परेकोछ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको एक महिना भन्दा बढीको लकडाउन, सामाजिक दुरी कायम राखेर गर्नु पर्ने समाचार सम्प्रेषणको यस सङ्कटको घडीमा पत्रकार भौतिक रुपमा असुरक्षित भएको इन्सेक बागमती प्रदेशले जनाएको छ ।
सञ्चार गृहले नियमित पारिश्रमिक उपलब्ध नगराउँदा आर्थिक रूपमा पनि पत्रकारले आफूलाई सुरक्षित गर्न सक्ने अवस्था रहेन भने लकडाउनका कारण आर्थिक गतिविधि बन्द हुँदा विभिन्न सञ्चारमाध्यम तथा जिल्लाबाट प्रकाशन हुने पत्रपत्रिकाको प्रकाशन अझै हुन नसकेको इन्सेक बागमती प्रदेशले जनाएको छ ।
बागमती प्रदेशमा यहि लकडाउनको अवस्थामा पनि कहिँ प्रहरी प्रशासनले, कहिँ जनप्रतिनिधि त कहिँ जिम्मेवार निकायले समाचार सङ्कलनका लागि कार्यस्थलमा खटिँदा पत्रकारलाई धम्की दिने, गिरफ्तार गर्ने लगायतका गतिविधि भएका छन् ।
समाचार लेखेको, सम्प्रेषण तथा प्रकाशन भएकै कारण पत्रकारलाई चितवन, सिन्धुली, ललितपुर, काठमाडौँ लगायतका जिल्लामा मुद्दा दायर भएको, धम्की तथा दुव्र्यवहार भएका घटना इन्सेक प्रतिनिधिबाट सम्प्रेषण भइरहेको इन्सेकले जनाएको छ ।
सर्वसाधारण नागरिकले सामाजिक सञ्जालमा अभिव्यक्ति प्रकट गरेकै आधारमा पनि गिरफ्तार तथा धम्की आइरहेका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा संविधान प्रदत्त नागरिकको सूचनाको हक उपभोगको लागि अभिव्यक्ति स्वतन्त्रताका सम्वाहक पत्रकारमाथि भएको गिरफ्तारी, कुटपिट, धम्की तथा दुव्र्यवहारको घटनाप्रति इन्सेकले दुःख व्यक्त गरेको छ । नेपालको संविधान २०७२ र अन्तर्राष्ट्रिय मानव अधिकारको सम्मान गर्न सबै पक्षमा आग्रह गरिएको इन्सेक बागमती प्रदेशले संयोजक कृष्ण गौतमले जारी गर्नु भएको विज्ञप्तीमा उल्लेख छ ।

Source: http://digokhabar.com/2020/05/04/%E0%A4%85%E0%A4%AD%E0%A4%BF%E0%A4%B5%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%BF-%E0%A4%A4%E0%A4%A5%E0%A4%BE-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%B8-%E0%A4%B8%E0%A5%8D%E0%A4%B5/?fbclid=IwAR1G8DrRjw3exbsUEVW-KqY51sTXOrx1kpO3OQIfd7rxZ57XMwK8W9UsbPw