इन्सेकको आँखामा कस्तो रह्यो आजको चुनाव?

सेतोपाटी डटकम । २०७९ मङ्सिर ४ गते

आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन समग्रमा शान्तिपूर्ण भए पनि केही जिल्लामा भएको विवाद र हिंसात्मक घटनाप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले चिन्ता व्यक्त गरेको छ। उक्त केन्द्रले निर्वाचनको प्रारम्भिक प्रतिवेदन आइतबार प्रमुख निर्वाचन आयुुक्त दिनेशकुमार थपलियालाई बुझाउँदै आयोगले शून्य सहनशीलताको नीति अपनाएको भए पनि निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा कमी आएको नदेखिएको जनाएको छ। इन्सेकका अध्यक्ष डा. इन्दिरा श्रेष्ठले उक्त प्रतिवेदन बुझाएकी थिइन्।

ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूलाई मतदान गर्ने प्रक्रिया सहज रहेको पाइएको पनि उक्त संस्थाले जनाएको छ। त्यस्तै सीमान्तकृत नागरिक, ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी, अपांगता भएका व्यक्ति लगायतका मतदातालाई खानेपानी र शौचालयको व्यवस्था र स्वतन्त्र पर्यवेक्षकको अनुगमनमा पहुँचको विषयसमेत निर्वाचन र मानव अधिकार संरक्षणका लागि महत्वपूर्ण पक्ष रहेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा ३८ स्थानमा बम फेला र आठ स्थानमा बम बिस्फोट हुनुका साथै ६९ स्थानमा हवाई फायर भएको उल्लेख छ। इन्सेकले देशका सबै जिल्लामा ७५१ जना पर्यवेक्षक परिचालन गरेको थियो। प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनमा देखिएका सुधार विगतमा पर्यवेक्षक संस्थाले गरेका सुझावकै आधारमा भएको जनाउँदै आगामी दिनमा गर्नुपर्ने कानुनी सुधार र मतदाता शिक्षाको नियमित सञ्चालनबारे आयोगले फड्को मार्ने गरी काम गर्ने सोच बनाएको बताए।

Source: https://www.setopati.com/election/Parliamentary/287037