इन्सेकद्धारा कोरोना नियन्त्रण कोषमा दश लाख दिने निर्णय

मानवअधिकारको क्षेत्रमा क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा १० लाख ४ हजार ६ सय ५४ रुपियाँ प्रदान गर्ने निर्णय गरेको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन तथा सो को रोकथाम एवं नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई उक्त रकम प्रदान गर्ने निर्णय इन्सेकले गरेको हो ।

इन्सेकमा कार्यरत पूर्णकालीन कर्मचारी, ७७ जिल्ला प्रतिनिधि तथा विभिन्न परियोजनामा कार्यरत कर्मचारीहरूको सात दिनको तलबवापतको रकम उक्त कोषमा जम्मा गरिएको इन्सेक पाँच नं. प्रदेश संयोजक भोला महतले जानकारी दिनुभयो ।

कोरोना भाइरस संक्रमणको रोकथामका लागि नेपाल सरकारले गरेको प्रयासमा इन्सेकको सानो सहयोगले केही सघाउ पुग्ने इन्सेकले जनाएको छ ।

Source: https://nayayougbodh.com/news/2020/04/02/169534