इन्सेकले भन्यो- रोम विधान अनुमोदन होस्
नेपाल खोज डटकम । २०७८ साउन १ गते
काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान अनुमोदन गर्न नेपाल सरकारसमक्ष इन्सेकले माग गरेको छ । रोम विधान पारित गरिएको दिन १७ जुलाइको स्मरणमा संसारभर मनाइने अन्तर्राष्ट्रिय न्याय दिवसका अवसरमा इन्सेकले दण्डहीनताको अन्त्य गरी पीडितहरूको न्याय सुनिश्चितताका लागि रोम विधान अनुमोदन गर्न प्रेस विज्ञप्तिमार्फत माग गरेको हो । ‘यो दिवसमा अन्तर्राष्ट्रियस्तरमा गरिएका मानवअधिकारसम्बन्धी प्रतिबद्धताहरू सरकारलाई स्मरण गराउन तथा मानवअधिकार र मानवताविरूद्धका गतिविधिमा संलग्नलाई कारबाही गर्ने अन्तर्राष्ट्रिय संयन्त्र अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदनका लागि हामीले वर्षैपिच्छे माग गर्दै आएका छौं,’ विज्ञप्तिमा भनिएको छ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान सन् १९९८ को जुलाई १७ देखि सम्मिलनका लागि खुला गरिएको थियो । यो विधान संसारका विभिन्न १ सय २३ राष्ट्रले अनुमोदन गरिसकेका छन् । दक्षिण एसियाका बंगलादेश, अफगानिस्तान, मालदिभ्सलगायत एसियाका १९ देश रोम विधानको पक्ष राष्ट्र भइसकेका छन् । मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षाका सन्दर्भमा नेपाललाई विभिन्न राष्ट्रले तीनपटकको समीक्षामा अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान अनुमोदन गर्न सुझाव प्राप्त भएकामा हालसम्म सम्बोधन हुन नसकेको विज्ञप्तिमा औंल्याइएको छ ।