इन्सेकले मानव अधिकार अभियानलाई जगाई राखेको छ : नीतु गर्तौला

केन्द्र भाग डटकम । २०८२ जेठ १७ गते

पोखरा । राष्ट्रिय मानव अधिकार आयोगका गण्डकी प्रदेश प्रमुख नीतु गर्तौलाले इन्सेकले मानव अधिकार अभियानलाई जगाई राखेको बताएकी छन् । इन्सेक गण्डकी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार समूहका पदाधिकारीका लागि क्षमता विकास तालिमको उद्घाटन सत्रमा बोल्दै उनले सो कुरा बताएकी हुन् ।

समुदायमा विभेदका घटनाहरु आइरहेका र पीडितलाई कानुनी रुपमा न्यायका लागि अधिकारकर्मीहरु सक्रिय हुनुपर्ने आवश्यकता रहेको उनले बताइन् । मानव अधिकार हननका घटनामा इन्सेकले राज्यलाई ध्यानाकर्षण गराइरहेको र अभियानलाई निरन्तर रुपमा संचालन गरिरहेको उनले उल्लेख गरिन् । गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशका अध्यक्ष गोपाल खडकाले गैरसरकारी संस्थाहरुले निरन्तर रुपमा मानव अधिकार प्रवर्द्धनका लागि काम गरिरहेका धारणा राखे ।

नवलपुर र कास्की जिल्लामा इन्सेकद्वारा गठन गरिएको मानव अधिकार समुहका पदाधिकारीहरुलाई १७ जेठ र १८ जेठमा क्षमता विकास तालिम गर्न लागिएको इन्सेक गण्डकी प्रदेशका संयोजक शिवप्रसाद खकुरेलले जानकारी दिए ।

मानव अधिकार शिक्षा कार्यक्रम अन्तरगत विगत तिनवर्ष देखि नवलपुरको देवचुली र मध्यविन्दु नगरपालिका साथै कास्कीको मादी र माछापुच्छ्रे गाउँपालिकामा विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको जानकारी गराउँदै उनले स्थानीय समुदायलाई सचेत र जागरुक बनाउँदै मानव अधिकार प्रति स्थानीय सरकारलाई जिम्मेवार र जवाफदेही बनाउनका लागि कार्यक्रम संचालन हुँदै आएको बताए ।

दुई दिनसम्म मानव अधिकारको अवधारणा र मानव अधिकारको लागि मानव अधिकारकर्मीको भुमिका, महिला अधिकार र कार्यान्वयनको अवस्था, अपांगता भएका व्यक्तिहरुको अधिकार, जातीय विभेद विरुद्धको अधिकार, शुशासन प्रवर्द्धनका लागि नागरिक समाजको भुमिका, नेतृत्व विकास लगायतका विषयमा सहजीकरण गरिने उनले जानकारी दिए ।

प्रदेश मानव अधिकार संजालका गण्डकीका अध्यक्ष डिल्लीराम भण्डारीको अध्यक्षतामा भएको तालिमको उद्घाटन सत्रमा महिला अधिकारकर्मी सवनम शर्मा, प्रदेश मानव अधिकार संजाल, पालिका मानव अधिकार समूहका पदाधिकारी लगायतको सहभागिता छ ।

Source: https://kendrabhag.com/2025/97979/

Source: https://kotkhabar.com/5542/

Source: https://janchaso.com/training-for-members-of-human-rights-groups/

Source: https://shorturl.at/khMhk

Source: https://lokwaninews.com/News-details/news/3421

Source: https://everestawaj.com/2025/05/31/108863/

Source: https://shorturl.at/Nps2T