उच्च अदालतले माग्यो बजार क्षेत्रमा अस्पल्ट उद्योग सञ्चालन गर्नुको कारण

नागरिक न्यूज डटकम । २०८१ कात्तिक १३ गते

उच्च अदालत सुर्खेतले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित बजार क्षेत्रमा विगत दुई वर्षदेखि सञ्चालनमा रहेको अस्पल्ट उद्योग सञ्चालन गर्नुको कारण माग गरेको छ।

अधिवक्ता प्रकाशबाबु ऐडी, इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदी र अभियन्ता नवराज बोहराले दायर गरेको रिटमा सोमबार अदालतले कात्तिक २६ गते अन्तरिम आदेश सम्बन्धमा छलफलका लागि बोलाएको छ।

न्यायाधीश मदन पोख्रेलको एकल इजलासले १५ दिनभित्र विपक्षीहरूलाई लिखित जवाफ पेश गर्न पनि आदेश दिएको छ। बसपार्क छेउमा विगत दुई वर्षदेखि खड्का निर्माण सेवाले अस्फल्ट उद्योग सञ्चालन गर्दै आइरहेको छ। उद्योगबाट विभिन्न कच्चा पदार्थहरू पकाएर सडक कालोपत्रेका लागि अलकत्रा बनाउँदा त्यसबाट दैनिक निस्किने धुवाले प्रदेश राजधानी वीरेन्द्रनगर क्षेत्र प्रदूषित बनाएको छ।

रिट निवेदनमा वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, सुर्खेत उपत्यका नगर विकास समिति, जिल्ला प्रशासन कार्यालय, वीरेन्द्रनगर नगरपालिका ६ नम्बर वडा कार्यालय र खड्का निर्माण सेवा बाँकेलाई विपक्षी बनाइएको छ।

‘निवेदकको माग बमोजिम परमादेशसमेतको आदेश जारी हुनुपर्ने हो होइन्? आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सो समेत साथै राखी प्रस्तुत निवेदन प्राप्त भएको मितिले बाटाको म्यादबाहेक पन्ध्र दिनभित्र जिल्ला प्रशासन कार्यालय सुर्खेतको हकमा उच्च सरकारी वकिल कार्यालयमार्फत र अन्यको हकमा आफै वा कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नु,’ न्यायाधीश पोख्रेलको आदेशमा भनिएको छ।

रिट निवेदकमा वायु प्रदूषणका कारण हृदय रोग, श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग र क्यान्सरजन्य रोगहरू लाग्ने प्रमुख कारण बनेको भन्दै नेपालको संविधान र वातावरण संरक्षण नियमावली, २०७७ लाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ।

यस्तै हरेक मुलुकले स्वच्छ वातावरणलाई कानुनी रुपमानै मानव अधिकारसँग जोडेको र वातावरणीय प्रदूषण वा ह्रासबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुने कुरासमेत संविधानमा उल्लेख भएको अवस्थामा उक्त उद्योगबाट संवैधानिक व्यवस्थासमेतलाई अनदेखा गरेको कार्य निकै खेदपूर्ण रहेको रिटमा उल्लेख गरिएको छ। 

अस्पल्ट उद्योगका कारण निस्किएको धुवाँको मुस्लो।

Source: https://nagariknews.nagariknetwork.com/social-affairs/1453199-1730118455.html

Source: https://shorturl.at/5xLNj

Source: https://nepaliraibar.com/2024/10/79685/