एक घर एक इन्डक्सन चुलो’ कार्यक्रम सञ्चालन गर्न माग

मङ्गलबार, २७ जेठ २०७७

समाधान संवाददाता
पोखरा, २७ जेठ

शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले नागरिकको जीवन रक्षामा केन्द्रीत रहन प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मंगलबार ध्यानाकर्षण पत्र बुझाउँदै सञ्जालले नेपालमा आउँदा दिनमा कोरोनाको संकट अझै चुनातीपूर्ण बन्ने देखिएकाले जनताको जीवन रक्षामा केन्द्रित हुन ध्यानाकर्षण गराएको हो ।

विभिन्न ६ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सञ्जालले प्रभावित क्षेत्रलाई वर्गीकरण गरेर आर्थिक गतिविधि चलायमान र बन्दाबन्दी खुकुलो बनाउन प्रदेश सरकारसँग माग गरेको छ । सञ्जालका संयोजक विष्णुप्रसाद बरालसहित विभिन्न संस्थाका १० जनाले मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

पत्रमा प्रदेश तथा स्थानीय सरकारले ल्याउन लागेको बजेटमा कृषि तथा रोजगारीलाई प्रर्वद्धन गर्ने कार्यक्रम ल्याउन र नागरिकको जीविकालाई सहज पु¥ याउने खालका कार्यक्रम ल्याउन सुझाव दिइएको छ । मानो खाएर मुरी उब्जाउने समयको शुरूवात हुन गइरहेकाले बीउबीजन, मल किसानहरुलाई सहज ढंगबाट उपलब्ध गराउँदै उत्पादिन चिजवस्तुको सहजआपूर्ति र वितरणको प्रत्याभूति गर्न टोलीले माग गरेको छ ।

कृषि क्षेत्रमा वितरण गरिएका अनुदानबाट बिचौलियाले लाभ हासिल गरेको देखिएकाले त्यसलाई नियन्त्रण गर्ने खालका कार्यक्रम जारी गर्नुपर्ने पत्रमा उल्लेख छ । साथै सो टोलीले गण्डकी प्रदेशमा ‘एक घर एक इन्डक्सन चुलो’ कार्यक्रम सञ्चालन गर्न माग गरेको छ । गण्डकी प्रदेश उज्यालो प्रदेशको नारा हरेका वर्षको नीति तथा कार्यक्रममा समावेश गरिँदै आएकोमा त्यसलाई प्रभावकारी बनाउन नयाँ कार्यक्रम सञ्चालन गर्न माग गरेको हो ।
मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउन संयोजक बरालसहित पूर्व संयोजक रामप्रसाद घिमिर, गैसस महासङ्घ नेपालका महासचिव रामप्रसाद सुवेदी, सयपत्री समाज पोखराका अध्यक्ष गेहेन्द्रेश्वर कोइराला, सदस्य गिरधारी सुवेदी, इन्सेकका गण्डकी प्रदेशका अध्यक्ष शिवप्रसाद खकुरेल, मानवअधिकार संरक्षण मञ्च, कास्कीका अध्यक्ष कमलप्रसाद अर्याल, चिल्डे«न नेपाल पोखराका अध्यक्ष रामचन्द्र पौडेल, मानवअधिकार रक्षक संरक्षण र प्रवद्र्धन केन्द्र (हुर्डेप) का सह–संयोजक ढाकाराम पौडेल र टोली कास्कीका अध्यक्ष छवि गौडेल पुगेका थिए ।

Source: https://samadhannews.com/news/2020/06/09/18453/