ओखलढुंगामा ६१ मानव अधिकार उल्लंघनका घटना
भिजन समाचार डटकम । २०८१ मङ्सिर १९ गते
ओखलढुंगामा एक बर्षको अवधिमा ६१ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ओखलढुंगाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को वार्षिक समीक्षा कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।
कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि पूर्व समीक्षा गरिएको थियो ।
जिल्लामा सन् २०२४ को जनवरी १ देखि डिसेम्बर ३ सम्म १२ महिनाको अवधिमा मानव अधिकार उल्लङघन तथा ज्यादतीका ६१ वटा घटनाबाट ६२ जना पीडित भएको इन्सेक जिल्ला प्रतिनिधि सरस्वती बानियाले जानकारी दिइन् ।
यस अवधिमा घरेलु हिंसा २५, बलात्कार २४, यौन दुव्र्यवहारका दुई, हत्या पाँच, कुटपिट र यातनाका तीन, आत्महत्या दुरुत्साहनका एक र जातिय विभेदको एक गरि ६१ वटा मानवअधिकार उल्लंघन भएका छन् ।
मानव अधिकार उल्लंघनका घटनामा सबैभन्दा धेरै महिला पीडित भएको इन्सेकको विवरणमा उल्लेख छ । ६१ वटा घटना मध्ये चार जना मात्रै पुरुष पीडित छन भने बाँकी जनामा ४४ जना महिला, १० जना बालिका र चार जना बालका पीडित छन् ।
समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकालले मानव अधिकारको क्षेत्रमा इन्सेकले गर्दै आएको काम सह्राननीय रहेको बताए । इन्सेकको दायरालाई फराकिलो बनाएर घटनालाई उजागर गर्नेसँगै न्यायिक निकायसम्म घटनाहरुलाई पुर्याउन थप सहयोग गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले प्रहरी र अदालतसम्म नपुगेको घटनाहरुलाई न्यायीक निकायसम्म पुर्याउन इन्सेकको अभियानमा सबै जुट्नुपर्ने बताए । नगरपालिकाले मानवअधिकार संरक्षणको क्षेत्रमा काम गरिरहेको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिने बताए ।
कार्यक्रममा सिद्धिचरण नगरपालिका प्रमुख प्रशासकीय अधिकृत निलकण्ठ विश्वकर्माले इन्सेकको प्रतिवेदनले नगरपालिका र समग्र जिल्लाको मानव अधिकारीको अवस्था जानकारी हुने भएकाले त्यसै अनुसार नीति तथा कार्यक्रम बनाएर काम गर्न सहज भएको बताएका छन् ।
पीडितको मानव अधिकार हनन् नहोस भन्ने किसिमले आफूहरुले काम गरिरहेको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता विश्वास सुनुवारले बताए ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले मानव अधिकारको सुनिश्चितताको लागि प्रहरीले निरन्तर भूमिका खेलिरहेको बताए । कतिपय घटना प्रहरीसम्म आइनपुग्ने भएकाले समाजमा लुकेर रहेका मानव अधिकार उल्लंघनका घटना प्रहरी र न्यायीक निकायसम्म पुर्याउन सबैको प्रयास आवश्यक रहने बताए ।
ओखलढुंगा जिल्ला अदालत अदालतका तहसिलदार कल्याण खड्काले आफूहरु मानव अधिकारको संरक्षणको लागि प्रतिवद्ध रहेको बताउँदै इन्सेकका काममा आवश्यक समन्वय गर्ने बताएका थिए ।
यस्तै उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाका शाखा अधिकृत कृष्ण प्रसाद दाहालले जिल्लाको मानव अधिकार आवस्थाको बारेमा इन्सेक प्र्रतिवेदनबाट धेरै जानकारी प्राप्त भइरहेकाले आगामी दिनमा पनि घटनाको तथ्यांक सार्वजनिक गर्ने र खबरदारीमा पनि उत्तिकै जोड दिन आग्रह गरे ।
समिक्षा कार्यक्रममा सहभागीहरुले आर्थिक, सामाजिक, साँस्कृतिक अधिकारका सवाल सँगै विकासका अधिकारलाई पनि समेट्न आवश्यक रहेको बताएका थिए ।
समीक्षा कार्यक्रममा जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, नागरिक समाज,पत्रकार, मानव अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो ।
Source: https://shorturl.at/o7Ccw