कर्णालीका मुख्यमन्त्री र सभामुखसंग मानव अधिकार विषयमा छलफल
युगन्यूज डटक । २०७८ चैत १० गते
कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री जीवनबहादुर शाहीसंग इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठ लगायतको टोलीले मानव अधिकार अवस्थाको विषयमा छलफल गरेको छ । चैत १० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर अध्यक्ष श्रेष्ठसहितको टोलीसंग मुख्यमन्त्री शाहीले मानव अधिकारको रक्षाका लागि सरकार समन्वय र सहकार्य गर्न प्रतिवद्ध रहेको बताउनुभयो । संविधानले व्यवस्था गरेको नागरिकको अधिकार पनि राज्यले दिन नसकेको भन्दै मानव अधिकार संरक्षणका लागि आफु प्रतिवद्ध रहेको बताउँदै इन्सेकले नागरिकको सरल जीवन जिउँन महत्वपूर्ण भूमिका खेलेको बताउँनुभयो । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ ग्रहण गर्दै मुख्यमन्त्री शाहीले मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाको संकलन र विश्लेषणले भविष्यमा मानव अधिकारको अवस्थाको अभिलेख हुने बताउनुभयो । मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा कमि ल्याउन सरकारसंग सहकार्य भए मानव अधिकारको संरक्षणमा थप सुधार हुने भन्दै अध्यक्ष श्रेष्ठले समग्र मानव अधिकारको अवस्थाका बारेमा जानकारी गराउनुभयो । विशेषगरी राज्यपक्षबाट हुने मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरुमा शून्यमा झार्न सरकार लाग्नुपर्ने भन्दै ‘समृद्ध कर्णाली, सुखारी कर्णाली वासी’ नारा लिएको प्रदेश सरकारसंगै काम गर्न इन्सेक तयार रहेको अध्यक्ष श्रेष्ठको भनाई थियो । सशस्त्र द्वन्द्वका समयदेखि नै मानव अधिकारको संरक्षणका लागि इन्सेकले काम गर्दै आएकोमा हाल शिक्षा, स्वास्थ्य, खाद्य लगाएतको क्षेत्रमा सचेतनाको काम गरिरहेको अध्यक्ष श्रेष्ठले जानकारी गराउनु भयो ।
त्यस्तै, कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीसंग पनि छलफल गरिएको छ । इन्सेक अध्यक्ष सहितको टोलीसंग सभामुख शाहीले मानव अधिकार रक्षाका लागि निर्माण गरिने कानुनको विषयमा थप पहल लिने बताउनुभयो । मानव अधिकार रक्षकनै असुरक्षित रहेको भन्दै मानव अधिकारमैत्री कानुन निर्माणमा इन्सेकसंग सहकार्य गरेर काम गर्ने बताउनुभयो । सशस्त्र द्वन्द्वदेखि नै इन्सेकले महत्वपूर्ण भूमिका खेलेको भन्दै इन्सेकको प्रशंसक रहेको सभामुख शाहीको भनाई छ । त्यस्तै, सभामुख शाहीलाई मानव अधिकार वर्ष पुस्तक २०२२ हस्तान्तरण गर्दै इन्सेक अध्यक्ष श्रेष्ठले मानव अधिकार उल्लंघन र ज्यादतीका घटना भयावह अवस्थामा रहेको भन्दै मानव अधिकारमैत्री कानून निर्माणमा जोड दिन आग्रह गर्नुभयो । मुख्यमन्त्री शाही र सभामुख शाहीसंगको छलफलमा अध्यक्ष श्रेष्ठसहित इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदी, इन्सेक केन्द्रिय कार्यालयका मदन पौडेल लगाएत सहभागि हुनु भएको थियो ।
Source: https://www.yugnews.com/2022/03/49725