कास्कीका नागरिक अगुवाहरुको राजनीनिक दलहरुलाई १२ बुँदे अपिल
अनलाइन अन्नपूर्ण डटकम । २०७८ चैत २१ गते
आगामी बैशाख ३० मा हुने स्थानीयतहको निर्वाचनमा सक्षम उम्मेदबार छनोट गर्नुपर्नेमा नागरिक अगुवाहरुले जोड दिएका छन्। शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीले सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी राजनैतिक दलहरुका लागि १२ बुँदे अपिल जारी गर्दै आसन्न निर्वाचनमा स्वच्छ उम्मेदबारलाई मात्र उठाउन आग्रह गरेको छ । अपिलमा सामाजिक क्षेत्रमा क्रियाशिल विभिन्न २४ वटा संस्थाहरुले ऐक्यबद्धता जनाएका छन् । अपिलमा रायमाझी आयोगले दोषी किटान गरेका तथा विगतमा मानवअधिकार उल्लंघनकर्र्ता, विभिन्न सामाजिक संघ संस्थाहरुमा रहेर आर्थिक हिनामिना गरी उजुरी परेका व्यक्ति, सार्वजनिक खरिद ऐन नियमावली उल्लंघनकर्ता, फौजदारी मुद्दामा सजाय पाएका व्यक्तिहरुलाई उम्मेदवार नबनाउन आग्रह गरिएको छ ।
त्यस्तै वडा तथा पालिकाहरुका अध्यक्ष, उपाध्यक्ष, मेयर तथा उपमेयर पदमा ३३ प्रतिशत महिला सहभागितालाई समेटिनुपर्ने, पछाडि परिएका वर्ग तथा समुदायको जनसंख्याको आधारमा उम्मेदवारी सुनिश्चिता, निर्वाचनमा गरिएको खर्चको विवरण पारदर्शी हुनुपर्ने लगायतमा मागहरु बुँदामा समेटिएको छ । पत्रकार सम्मेलनमा बोल्दै शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका संयोजक विना सिलवालले दलहरुले सर्वस्वीकार्य उम्मेदवारलाई छनोट गर्नुपर्ने बताइन् । उनले स्थानीय तहहरुले नागरिकहरुका आधारभुत आवश्यकताहरुलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा अपिलपत्र बुझाइसकिएको र अन्य दलहरुलाई पनि बुझाइने बताए । उनले जनप्रतिनिधिहरुको प्राथमिकता भ्यु टावर जस्ता संरचनाहरुको निर्माणमा रहेको भन्दै मानवीय आधारभुत आवश्यकतापछि मात्र भौतिक संरचनाहरुमा जोडदिनुपर्ने बताए । कार्यक्रममा अधिवक्ता गीरीधारी सुवेदी, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति गण्डकीका संयोजक बिष्णुप्रसाद बराल र गैरसरकारी संस्था महासंघ नेपाल गण्डकीका अध्यक्ष गोपाल खड्काले सक्षम र नागरिकहरुप्रति जवाफदेहि भएका योग्य व्यक्तिहरुलाई उम्मेदवार बनाउन राजनीतिक दलहरुलाई आग्रह गरे ।