कैलालीका मानव अधिकार अभियन्ता फिरुलाल चौधरीलाई सम्मान

टिकापुर एफएम डट ओआरजी । २०७८ साउन १७ गते

यस वर्षको २७ औँ प्रकाश मानव अधिकार पुरस्कार—२०७७ कैलालीका मानव अधिकार अभियन्ता फिरुलाल चौधरीलाई प्रदान गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको २९ औँ स्मृति दिवसका अवसरमा साउन १६ गते इन्सेकले धनगढीमा आयोजना गरेको कार्यक्रममा चौधरीलाई सम्मान गरिएको हो । चौधरीलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले सम्मानपत्र, ताम्रपत्र, ५० हजार नगदसहित इन्सेक चिन्ह् प्रदान गरी सम्मान गर्नुभएको हो ।  चौधरीलाई सममानका अवसरमा आयोजित कार्यक्रममा बोल्दै  मुख्यमन्त्री त्रिलोचन भट्टले समाज परिवर्तन र सामाजिक न्यायका लागि क्रियाशिल व्यक्तित्वहरुलाई सम्मान गरेर इन्सेकले सराहनिय कार्य गर्दै आएको बताउनुभयो । ‘आफ्ना लागि सबै प्राणीले गर्छ, महान त्यो मान्छे हो जसले अरुका लागि गर्छ,’ मुख्यमन्त्री भट्टले भन्नुभयो, ‘उहाँले समाजका लागि गर्नुभयो । आज सम्मानित हुनुभयो ।’ उनले सामाजिक न्यायमा अझै पनि सन्तोषजनक परिवर्तन हुन नसकेको बताए । ‘बोल्न पाउने, रोजगारी, सम्मानको अधिकार जनताले पाउन सकेको छैनन्,’ उनले भने, ‘संविधानको मौलिक हकमा लेखेको कुरा सामान्य नागरिकले चाहन्छ । स्वतन्त्र भएर बाँच्न पाउने कुरा छदैछ । जनताले सरकारी सुविधा सहज रूपमा पाउने सकेका छैनन् ।’ कैलालीको जानकी गाउँपालिका वडा नं २ खर्गौलीमा विपन्न परिवारमा जन्मेर कमैया जीवन समेत विताएका चौधरीले कमैया मुक्ति आन्दोलन, २०६२/६३ जनआन्दोलन, कृषि मजदुरको ज्याला बढाउने आन्दोलनको नेतृत्व समेत गर्नुभएको थियो । मानव अधिकार सचेतन तथा सामाजिक विकास केन्द्र हुराड्सका अध्यक्ष समेत रहनुभएको चौधरी नागरिक समाज टीकापुरको संयोजक पनि हुनुभएको थियो । 

सम्मान कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले सामाजिक न्यायका लागि विभिन्न अभियानमा योगदान पु¥याएका तर राज्यले चिन्न नसेका व्यक्तित्वहरुलाई इन्सेकले सम्मान गरेर मानव अधिकार तथा सामाजिक अभियान्ताहरुलाई उत्प्रेरणा प्रदान गरी सामाजिक सदभाव, न्यायमैत्री समाज  र दिगो शान्ति पुर्नस्थापनामा सहयोग गरेको बताउनु भयो । सामाजिक विकासमन्त्री लालबहादुर खड्काले विगतमा कमैया मुक्ती, कम्लहरी, दलित, महिला तथा विभिन्न वर्गको उथ्थानका लागि विगतमा आन्दोलनहरु भएका भएपनि ती आन्दोलनबाट अधिकारको पूर्णता नभएको बताउँदै नागरिक अधिकार सुनिश्चित गर्न सामाजिक अभियान्ताहरुले अझै वकालत तथा अभियानहरु सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो । इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले स्वर्गीय प्रकाश काफ्लेले मानव अधिकारको रक्षा र बिकास, मानव अधिकरको सचेतीकरण तथा जागरणमा महत्वपुर्ण योगदान गर्नु भएको बताउँदै मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउदै आएका व्यक्तिहरुलाई स्वर्गीय प्रकाश काफ्लेको सम्झनामा प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानीत गर्दै आएको बताउनु भयो ।

स्थानीयस्तरमा पनि बधाई

थारु अगुवा तथा मानवअिधकारकर्मी दिलबहादुर चौधरीले लामो समय मानव अधिकारको आन्दोलनमा लागेका  चौधरी सम्मान पाउनै पर्ने मानिस रहेको र इन्सेकले सम्मान  गरेकोमा आफूलाई खुशी लागेको बताउनुभयो । मानव अधिकारकर्मी फिरुलाल चौधरी सम्मानित भएपछि उहाँ संलग्न स्थानीय संस्थाहरुले पनि बधाई दिएका छन् । नागरिक समाज टीकापुरका सचिव एकिन्द्र तिमिल्सिनाले सशस्त्र द्वन्द्वका समयमा सर्वसाधारणको जीवन रक्षाका लागि र टीकापुरका विभिन्न आन्दोलनमा नागरिक समाजका तर्फबाट तटस्थ भूमिकामा रहनुभएका चौधरीले राष्ट्रियस्तरको मानव अधिकार पुरस्कार पाउनुभएकोमा धन्यवाद दिनुभएको छ । यस्तै मानव अधिकार सचेतन तथा सामाजिक विकास केन्द्र (हुराड्स) का अध्यक्ष कमला केसीले पूर्व अध्यक्ष चौधरीले प्राप्त गर्नुभएको सममानले संस्था गौरवान्वित भएको प्रतिक्रिया दिनुभएको छ ।

Source: https://tikapurfm.org/news-details/1738/2021-07-31?fbclid=IwAR2ppnS0OgMLexn9ac1JIDIN4pyERqtkMkpAnFj-s08i3x3HUvkV6L0tZM4