कैलालीका राजनीतिक दलहरुद्धारा निर्वाचन आचार संहिता पालना गर्ने प्रतिबद्धता व्यक्त
दिनेशखबर डटकम । २०७९ वैशाख ७ गते
धनगढीः कैलालीका राजनीतिक दल तथा विभिन्न सरोकारवालाहरूले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागी निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन्। राजनीतिक दल तथा सरोकारवालाहरूले बुधवार स्वच्छ, निष्पक्ष तथा भयरहित स्थानीय निर्वाचनका लागी सरोकारवालाको भूमिका र प्रतिबद्धता विषयक अन्तरक्रिया कार्यक्रममा सो प्रतिबद्धता जाहेर गरेका हुन्। अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण चौधरीले वैशाख ३० गते हुने स्थानीय चुनावमा अरू पार्टी कसले के गर्छन् भन्ने थाहा नभएको र आफ्नो पार्टी नेकपा माओवादीले भने आचारसंहिता विरुद्ध कुनै पनि कार्य नगर्ने र निर्वाचन आचारसंहिता पालना गर्न प्रतिबद्ध रहेको बताए। यस्तै, नेकपा एकीकृत समाजवादीका नेता दीर्घ जोशीले आफ्नो पार्टी प्रदेशमा सबै भन्दा ठुलो पार्टी भएको हैसियतले पनि अरू पार्टी भन्दा जिम्मेवार ढङ्गले आचार संहिता पालना गर्ने र राज्यले जारी गरे सबै खाले नियम कानुनहरू नैतिक रूपमा बाँधिएर पालना गर्न प्रतिबद्ध रहेको बताए। त्यस्तै, जसपा कैलालीका नेता माधव थारुले विगतमा जस्तो राज्यका नियमनकारी निकाय प्रहरी प्रशासनबाट साना दल ठुला दल भनेर फरक व्यवहार नहुने विश्वास व्यक्त गर्दै आफ्नो पार्टी तथा कार्यकर्ताहरू निर्वाचन आचार संहिता पालना गर्न प्रतिबद्ध रहेको बताए।
यस्तै, नेकपा एमाले कैलालीका नेता लोकेन्द्र सिंहले कुनै पनि पार्टीका उम्मेदवारहरू विरुद्ध उजुरी गर्ने वातावरणको सिर्जना नहोस् र आफ्नो पार्टीले पनि त्यो अवस्थाको सिर्जना नगर्ने बताउँदै नेकपा एमाले सदा नियम, कानुन एवम् निर्वाचन आयोगले जारी गरेको आचार संहिता पालना गर्न प्रतिबद्ध रहेको बताए। त्यस्तै, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले जिल्ला प्रहरी कार्यालय निष्पक्ष रूपले आदेश भए अनुरूपका काम कारबाही कानुन् संवत् कार्यान्वयन गर्न सधैँ लागी परेको र निर्वाचन सफल पार्न अझै सशक्त ढङ्गले लाग्ने बताए। त्यस्तै, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापाले विउरोक्रेसी अर्थात् कर्मचारी तन्त्रले आफ्नो धर्म नबिर्सिने र जिल्ला भरका विभिन्न सुरक्षा निकाहरूलाई राजनीतिक दल तथा अन्य सरोकारवालाहरू सँगको छलफल, समन्वय सहकार्यमा कार्यसम्पादन गर्ने बताए।
यसै गरी, जिल्ला अदालत कैलालीका न्यायाधीश एवम् प्रमुख निर्वाचन अधिकृत जयानन्द पनेरुले वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा सबैभन्दा बढी जिम्मेवार राजनीतिक दलहरू हुने भएकोले आज गरेका प्रतिवद्धताहरु सबै नेतृत्व तह र कार्यकर्ता माझ पुर्याई दिन आग्रह गर्दै आसन्न निर्वाचन सफल पार्न सबैले आ आफ्नो क्षेत्रबाट लाग्न आह्वान गरे। राष्ट्रिय मानव अधिकार आयोग, निर्वाचन आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, ईन्सेक र डसिएको संयुक्त आयोजनामा गरिएको अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत प्रेम राज भट्टले निर्वाचन आचार संहिता सम्बन्धी प्रस्तुतीकरण राखेका थिए । भने कार्यक्रममा कैलाली जिल्लाका सुरक्षा निकाय, विभिन्न राजनीतिक दलका प्रतिनिधि, मानव अधिकार कर्मी, सञ्चारकर्मी, कानुन व्यवसायी लगायतका विभिन्न सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो।