कैलाली कारागारमा थुनुवा मृत्यु प्रकरणको अनुसन्धान गर्न अधिकारकर्मीको माग !

कैलाली खबर डटकम । २०८१ असोज ३ गते

०३ असोज,सुखड । कैलालीको जिल्ला कारागार भित्रै पुर्पक्षका लागि थुनामा राखिएका एक जनाको मृत्यु भए पछि घटनाको सत्य तथ्य अनुसन्धान गर्न अधिकारकर्मीहरूले माग गरेका छ । जिल्लाको घोडाघोडी नगरपालिका–४ जनकपुरका २२ वर्षीय दिपक विकको यही भाद्र ३१ गते कारागार भित्रै मृत्यु भएको थियो । मृत्यु भएको घटनामा सुदूरपश्चिम प्रदेशमा कार्यरत विभिन्न संघ सस्थाहरुले बुधवार संयुक्त प्रेस विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी, गरै सरकारी संस्था महासङ्घ सुदूरपश्चिम प्रदेश, पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश, डिडब्लुआरएफ, ओरेक, माइती नेपाल, सिविन लगायतका संघ सस्थाहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी घटनाको अनुसन्धान गरी पीडित पक्षलाई न्याय दिन आग्रह गरेको छ ।

संविधानको धारा १६ मा नागरिकको सम्मान पूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चितता गरिएको भए पनि राज्यले नियन्त्रणमा लिई पुर्पक्षका लागि थुनामा राखिएका व्यक्तिको मृत्यु हुन गम्भीर विषय भएको र कारागारमा राखिएका व्यक्तिको मृत्यु हुनुले कारागार सुरक्षा मापदण्ड र त्यसको कार्यान्वयनको अवस्थामा प्रश्नहरू खडा भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कारागार भित्र लागु औषधहरुको प्रयोग, कुटपिट तथा मृत्युका घटनाले कारागार सुरक्षा व्यवस्थापन जिम्मेवारीपूर्वक नगरिएको प्रस्ट हुन्छ । हिरासत र कारागारमा राखिएका व्यक्तिहरूको सुरक्षा व्यवस्थामा सम्बन्धित पक्ष गम्भीर नहुने हो भने भविष्यमा पनि यस प्रकारका दुःखद घटनाहरू हुन सक्ने र राज्यका निकायप्रति नागरिकको जनविश्वास समेत नहुने भएकोले यस प्रकारका घटनाहरूको सत्य तथ्य छानबिन गरी दोषीलाई कानुन अनुसार कारबाही गर्न र पीडित परिवारलाई न्याय प्रदान गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दछौँ ।’

Source: https://shorturl.at/bgYUz