कोभिड–१९ का कारण पाँचौ मानव अधिकार राष्ट्रिय कार्ययोजना प्रभावित

१९ मंसिर २०७७, शुक्रबार १७:०४

 

facebook sharing button

हेटौंडाः कोभिड–१९ को संक्रमणका कारण पाँचौ मानव अधिकार राष्ट्रिय कार्ययोजना प्रभावित बनेको छ । आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले कोभिडका कारण पाँचौ मानवअधिकार राष्ट्रिय कार्ययोजना प्रभावित भएको बताउनुभएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रस्तावित पाँचौ मानव अधिकार राष्ट्रिय कार्ययोजनाको विषयमा हेटौंडामा आयोजना गरेको छलफलमा भर्चुअल माध्यममार्फत कार्ययोजना बारे जानकारी गराउनुहुँदै सहसचिव अधिकारीले कार्ययोजना कार्यान्वयनका लागि जिल्ला र स्थानीय तहमा समिति नै गठन हुन नसकेको पनि बताउनुभएको छ । यस्तै मुख्य सचिवको अध्यक्षतामा रहेको कार्यान्वयन तथा अनुगमन समितिले ६ महिनामा बस्नुपर्ने बैठक समेत नियमित बस्न नसकेको पनि अधिकारीको भनाइ छ । प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा मानव अधिकारको अवस्था र भावी योजना पनि बनाउन नसकिएको अधिकारीले बताउनुभएको छ । इन्सेक बागमती प्रदेश कार्यालयका कार्यक्रम संयोजक गणेश भण्डारीको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न संघ, संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

गत आर्थिक वर्ष २०७६/७७ बाट सुरु भएर ५ वर्ष सञ्चालन हुने कार्ययोजनाले मानवअधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गर्दै विधिको शासन कायम राख्ने उद्देश्य लिएको छ । यस्तै संविधान तथा कानुनले प्रत्याभूत गरेको अधिकारको उपभोग सुनिश्चित गर्ने, मान अधिकारप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्व कार्यान्वयन गर्दै मानव अधिकार संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्य पनि कार्ययोजनाको रहेको छ ।

Source: https://samriddhasamaj.com/archives/12872