गण्डकीमा मानव अधिकार उलङ्घनको घटनाबाट ५०४ जना पीडित

नागरिक न्यूज डटकम । २०८१ फागुन ८ गते

गण्डकी प्रदेशमा सन् २०२४ मा मानव अधिकार उलङ्घनका घटनामा कुल ५ सय ४ जना पीडित भएका छन् । अनौपचारिक सेवा क्षेत्र ईन्सेक गण्डकी प्रदेशले मानव अधिकार घटना सम्बन्धी तयार पारेको प्रतिवेदनमा ४ सय २९ जना महिला र ७५ जना पुरुष गरेर कुल ५ सय ४ जना पीडित रहेको पाइएको पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । यो संख्या अघिल्लो वर्षको भन्दा १ सय १२ जना कम हो ।

अघिल्लो वर्ष सन २०२३ मा मानव अधिकार उलङ्घनका घटनामा ६ सय १६ जना पीडित भएका थिए । त्यसमा राज्य पक्षबाट ५ जना र गैर राज्य पक्षबाट ६ सय ११ जना पीडित भएका थिए । यस वर्ष भएका पीडितहरू सबै गैर राज्य पक्षबाट पीडित भएका हुन् । यस वर्ष राज्य पक्षबाट भने कोही पनि पीडित भएको नपाइएको ईन्सेक गण्डकी प्रदेश प्रमुख शिवप्रसाद खकुरेलले जानकारी दिए।

सन २०२४ मा परिवारका सदस्यबाट हत्या गरिएको घटनामा १० जना, बेचबिखनमा एक जना, बलात्कारका घटनामा ४५ जना, बलात्कारपछि हत्यामा एक जना, बलात्कारको प्रयासमा दुई जना महिला पीडित भएका छन् । त्यस्तै, साइबर अपराधमा दुई जना, बहुविवाहमा ११ जना, घरेलु हिंसाका घटनामा दुई सय १७  जना महिला पीडित भएका उनले जानकारी दिए ।

यसै गरी, बालविवाहमा तीन जना बालिका र दुई जना बालक, बेचबिखनमा चार जना बालिका, विद्यालयमा दिएको शारीरिक दण्ड सजायमा दुई जना बालिका र एक जना बालक पीडित भएका छन् । त्यस्तै, नवजात शिशुको हत्यामा एक जना बालिका, बलात्कार घटनामा ६८ जना बालिका, बालयौन दुर्व्यवहारका घटनामा एक सय २७ जना बालिका र चार जना बालक, पीडित भएको इन्सेकको प्रतिवेदनमा उल्लेख रहेको उनले जानकारी दिए ।

ईन्सेकको प्रतिवेदनमा महिला तथा बालबालिकामाथि हुने हिंसा गम्भीर चुनौतीका रूपमा देखिएको प्रतिवेदनमा उल्लेख छ । घरेलु हिंसामा २ सय १७ जना महिला, बलात्कारमा ४५ महिला, बलात्कारपछि हत्यामा १ जना तथा साइबर अपराधमा २ जना महिला गण्डकी प्रदेशमा पीडित भएको प्रतिवेदनमा उल्लेख छ । गत वर्ष २०२३ मा राज्य पक्षबाट ५ जना पुरुष र अन्य पक्षबाट ५ सय ४८ जना महिला र ६३ जना पुरुष गरी जम्मा ६ सय १६ जना पीडित भएका थिए । गत वर्षको तुलनामा यस वर्ष समग्र घटनामा ११२ जनाले कमी आएको हो ।

बालअधिकार उल्लङ्घनका घटनामा भने यस वर्ष अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ । ईन्सेक गण्डकी प्रदेश प्रमुख खकुरेलले बाल अधिकार उलङ्घनमा १ सय ३१ जना बालबालिका पीडित भएको पाइएको बताए । अघिल्लो वर्ष ११५ जना बालबालिका पीडित भएको पाइएकोमा यस वर्ष १६ जना बढेको उनले उल्लेख गरे ।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये मानव अधिकार उलङ्घनका घटना सबैभन्दा बढी कास्की र सबैभन्दा कम मनाङमा दर्ता भएका छन् । कास्कीमा १ सय १३ जना महिला र ३६ जना पुरुष गरी कुल १ सय ४९ जना पीडित रहेको जनाइएको छ । मनाङमा भने एउटा मात्र बहु विवाहको घटना दर्ता भएको खकुरेलले जानकारी दिए । महिला तथा बालबालिका माथि भएका हिंसाका घटनामा मिलापत्र गराउने पुरानै प्रवृत्ति कायम रहेको ईन्सेकले बताएको छ । ईन्सेक गण्डकी प्रदेश प्रमुख खकुरेलले भने,‘बलात्कार तथा यौन दुर्व्यवहारका घटनामा पीडितलाई न्याय दिनु राज्यको दायित्व हो,‘तर आरोपितलाई धरौटीमा रिहा गरिने प्रवृत्तिले पीडित न्यायबाट वञ्चित भइरहेका छन् ।’ त्यसैले महिला तथा बालबालिकामाथिको हिंसा बढेको देखिएको ईन्सेक गण्डकी प्रदेश प्रमुख खकुरेलले बताए ।

ईन्सेकले महिला तथा बालबालिकामाथि हुने हिंसामा परिवारका सदस्य, आफन्त र चिनजानका व्यक्तिहरू नै बढी संलग्न रहेको प्रतिवेदनले देखाएको जनाएको छ । यसले गर्दा पीडितले न्याय पाउन थप चुनौती देखिएको प्रमुख खकुरेलले बताए । त्यस्तै, प्रदेश सरकारले हिंसा पीडित महिलाहरूका लागि सुरक्षित गृह निर्माण गरेको भने पनि त्यो सञ्चालनमा आउन नसक्दा पीडितले सुरक्षित महसुस गर्न नसकेको पनि उनको भनाई छ ।

Source: https://nagariknews.nagariknetwork.com/social-affairs/1465690-1740049185.html