घोडाघोडी–१० मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइयो
कैलाली खबर डटकम । २०८१ मङ्सिर १२ गते
सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा ३३ औँ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइएको छ । ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यको लागी ऐक्यबद्धता’ भन्ने नाराका वडामा अभियान मनाइएको हो । नगरपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको आयोजना तथा विभिन्न सघ संस्थाहरूको समन्वयमा कार्यक्रम गरीएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खडक बहादुर रावतले आगामी दिनहरूमा यस पालिका भित्र कुनै पनि प्रकारको लैङ्गिक हिंसाका घटनाहरू बढ्न नदिन यस्तो खालको चेतना मूलक कार्यक्रमले सहयोग पुग्ने बताउनु भयो । समाजमा अहिले पनि आफूले भोगेको हिंसा लुकाउने र सार्वजनिक नगर्ने हुनाले हिंसा झन् बढ्दै गएको उनको भनाई थियो । पालिका भित्र हुने लैङ्गिक हिंसाका घटनाहरू न्यूनीकरणको लागी नगरपालिका लागी परेको उहाँको धारण रहेको थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक दीर्घ साउँदले सहभागीहरूलाई लैङ्गिक हिंसाको स्वरूप,प्रकार र कानुनी कुराको बारेमा जानकारी गराएका थिए । महिला माथिको सामाजिक दृष्टिकोणमा पूर्ण रुपमा परिवर्तन नआइसकेकाले सामाजिक, आर्थिक र घरेलु हिंसा जस्ता हरेक हिंसा विरुद्ध प्रत्येक महिलाले आवाज उठाउनु पर्ने बेला आएको उनले बताउनु भयो ।
त्यस्तै सिएमसी नेपालका प्रतिनिधि सुशीला चौधरीले घरेलु हिंसाले पार्ने मानसिक समस्याको बारेमा जानकारी दिनु भएको थियो । मानसिक स्वास्थ्य के हो, मनोविर्मश सेवा,मानसिक स्वास्थ्य समस्याका लक्षण, मानसिक समस्याको पहिचान र यसको उपचारको बारेमा सहभागीहरुलाई जानकारी दिनु भएको थियो ।
कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को सहयोग कान्तिराज्यलक्ष्मी माध्यामिक विद्यालयहरूमा गठन गरिएका बाल अधिकार चेतना समूहले छोराछोरी बिच विभेद,दुर्व्यवहार,बाल विवाह,दाइजो प्रथा र घरेलु हिंसा सम्बन्धीको सचेतना मूलक सडक नाटक प्रदर्शन गरेका थिए । वडा नम्बर १० का वडा अध्यक्ष विजय राज स्वारको सभाध्यक्षमा कार्यक्रम भएको थियो । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न सचेतना मूलक कार्यक्रम गरी विश्वभर लैङ्गिक हिंसा विरुद्धको अभियान मनाउने गरिन्छ ।